प्रज्जवल थापा । जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिगमा विजयी यात्रा कायम गरेको छ । मंगलबार राती भएको खेलमा बार्यनले साल्जबर्गमाथी ६-२ गोलको सनदार जित दर्ता गरेको हो ।
रेडबुल एरिनामा भएको खेलमा बार्यनको जितमा रोबर्ट लेवान्डोक्सीले दुई, बोएटिङ, लेरी साने, लुकास हर्नान्डेजले एक-एक गोल गर्दा एक गोल उपहार पाएको थियो । साल्जबर्गको लागि मेर्गिम बेरिशा र मासया ओकुगवाले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । चौथो मिनेटमा मेर्गिम बेरिशाको गोलमा साल्जबर्गले अग्रता लिएको थियो ।
२१ औँ मिनेटमा लेवान्डोक्सीले गोल गर्दै बार्यनलाई बराबरीमा ल्याए । ४४ औँ मिनेटमा साल्जबर्गका क्रिर्टेन्सेनले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा बार्यनले २-१ को अग्रता लिएको थियो । ६६ औँ मिनेटमा सिल्भाको पासमा ओकुगवाले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।
तर खेलको अन्तिम १० मिनेटमा बार्यनले चार गोल गर्यो । ७९ औँ मिनेटमा किम्मिचको पासमा बोयटिङले गोल गर्दै पाहुना टोलीलाई ३-२ गोलको अग्रता दिलाए । ८३ औँ मिनेटमा किम्मिचको पासमा सानेले गोल गरेपछि बार्यन फराकिलो जित तर्फ अग्रसर भएको थियो । ८८ औँ मिनेटमा मार्टिनेजको पासमा लेवान्डोस्कीको व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई ५-२ गोलले अगाडी बढाए ।
अतिरिक्त समयको दोस्रो मिनेटमा लुकास हेर्नान्डेजले गोल गर्दै म्युनिखलाई ६-२ गोलको फराकिलो जित दिलाए । समुहको अर्को खेलमा लोकोमोटिभ मोस्को र एथ्लेटिको म्याड्रिडले १-१ गोलको बराबरी खेले । जितसँगै बार्यन तीन खेलमा सतप्रतिशत जित निकाल्दै शिर्ष स्थानमा यथावत छ ।
