विश्वकप फाइनल : उपाधिको लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप-२०२२ को आज हुने फाइनल खेलमा उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । लुसाइल इकोनिक स्टेडियममा हुने खेल राति ८:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्दै उपाधि उचाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । अर्जेन्टिनाको विश्वकपमा शुरुवात भने सोचेअनुरूप रहेन । पहिलो खेलमै साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले त्यसपछि लय समात्यो । त्यसपछि मेक्सिको र पोल्याण्डलाई हराउँदै समूहको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले एसियन टोली अष्ट्रेलियालाई हराएको थियो । यस्तै रोमाञ्चक क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्सलाई पराजीत गरेको अर्जेन्टिनाले सेमिफाइनलमा साविक विजेता क्रोएसियालाई हराउँदै बदला लिएको थियो ।

अर्जेन्टिना आजको खेलमा बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ । चार वर्ष अगाडि रसियामा भएको विश्वकपको अन्तिम १६ मा अर्जेन्टिना फ्रान्ससँग ४-३ गोलले पराजीत हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसैले आजको खेलमा अर्जेन्टिना बदला लिंदै उपाधि उचाल्न चाहन्छ ।

साविक विजेता फ्रान्स यस विश्वकपमा विपक्षीमाथि हाबी रह्यो । समूहचरणको खेलमा डेनमार्क र अष्ट्रेलियालाई हराउँदै विश्वकपको शुरुवात गरेको फ्रान्स तेस्रो खेलमा टुनिसियासँग स्तब्ध बन्यो । तर हारका बाबजुत फ्रान्स समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्यो । अन्तिम १६ मा पोल्याण्डमाथि सहज जीत निकाल्दै फ्रान्स क्वाटरफाइनलमा पुगेको थियो ।  अन्तिम ८ मा छिमेकी इंग्ल्याण्डलाई पन्छाएको फ्रान्सले सेमिफाइनलमा ‘अन्डर डग’ मोरक्कोलाई हराएको थियो । सेमिफाइनलमा जीतसँगै फ्रान्स लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको हो ।

हालसँग दुवै टोलीले दुई-दुईपटक विश्वकपको उपाधि जितेका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा उपाधि जितेको थियो भने फ्रान्सले सन् १९९८ र २०१८ मा उपाधिमा आफ्नो नाम लेखाएको थियो । फ्रान्सको यो तेस्रो विश्वकप फाइनल हो । फ्रान्स भन्दा अर्जेन्टिना फाइनलमा अनुभवी रहेको छ । अर्जेन्टिनाले पाँचपटक फाइनल खेलेको छ । यसअघि सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेको अर्जेन्टिना उपविजेतामा सिमित बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *