विश्वकप सेमिफाइनल : फ्रान्स र मोरोक्को भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने दोस्रो सेमिफाइनल खेलमा साविक विजेता फ्रान्स र मोरोक्को भिड्दैछन् । अल बायत स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलको विजेताले उपाधिको लागि अर्जेन्टिनाको सामना गर्नेछ । गएराति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोलले पराजीत गर्दै अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो । उपाधि रक्षा गर्ने लक्ष्यसहित कतार पुगेको साविक विजेता फ्रान्स आजको खेलमा जीत निकाल्दै फाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया र डेनमार्कलाई हराउँदै प्रतियोगिताको शुरुवात गरेको फ्रान्स तेस्रो खेलमा टुनिसियासँग स्तब्ध बनेपनि समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको थियो । अन्तिम १६ मा पोल्याण्डमाथि ३-१ गोलको सहज जीत निकाल्दै अगाडि बढेको फ्रान्सले क्वाटरफाइनलमा उपाधिको बलियो दाबेदार इंग्ल्याण्डलाई पन्छाएको थियो ।

विश्वकपको शुरुवातको तीन सेमिफाइनल खेलमा जीत निकाल्न नसकेपनि त्यसपछि सन् १९९८, २००६ र २०१८ मा भएको सेमिफाइनलमा जीत निकाल्दै फाइनल खेलेको फ्रान्स यसपटकपनि उच्च मनोबलसहित मैदान उत्रिनेछ । पछिल्लो ८४ वर्षमा कुनैपनि युरोपियन टोली साविक विजेताको रुपमा फाइनल पुग्न सकेका छैनन् । यस्तै जारी विश्वकपमा फ्रान्सले सबै खेलमा गोल बेहोरेको छ ।

यस्तै जारी विश्वकपमा जादुमय यात्रा गरिरहेको मोरोक्को आज फ्रान्सलिई स्तब्ध बनाउँदै फाइनल पुग्ने दाउमा रहेको छ । क्रोएसियासँग बराबरी खेल्दै प्रतियोगिताको शुरुवात गरेको मोरोक्को क्यानडा र बेल्जियमलाई हराउँदै अन्तिम १६ मा पुगेको थियो । अन्तिम १६ मा उपाधिको दाबेदार स्पेनलाई पेनाल्टी सुटआउटमा पाखा लगाएको मोरोक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई  स्तब्ध पारेको थियो ।

विश्वकपको इतिहासमा मोरोक्को सेमिफाइनल खेल्ने पहिलो अफ्रिकन टोली हो । मोरोक्कोका गोलकिपर यासिने बोनुले विश्वकपमा चार क्लिन सिट राखिसकेका छन् । तर जारी प्रतियोगितामा पाँच गोल गर्दै गोल्डेन बुटको दौडको शीर्ष स्थानमा रहेका युवा फरवार्ड किलियन एम्बाप्पे र ओलिभिएर जिरुडको जोडीलाई रोक्न मोरोक्कोको डिफेन्सलाई राम्रै कसरत गर्नुपर्ने देखिन्छ । मोरोक्को जारी प्रतियोगितामा अपराजीत रहेको छ ।

दुई टोलीबीच हालसम्म पाँच खेल भएको छ । जसमध्य मोरोक्कोले मात्र एक खेल जित्दा फ्रान्सले तीन खेल आफ्नो पक्षमा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *