एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना भिड्दैछन् । लुसाइल इकोनिक स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।
रसियामा भएको गत संस्करण गुमाएको नेदरल्यान्ड्स यसपटक उपाधि जित्ने लक्ष्यसहित कतार पुगेको हो । पछिल्लो पाँच विश्वकपमा चारपटक क्वाटरफाइनलमा पुगेको नेदरल्यान्ड्स सन् २०१० र २०१४ को विश्वकपको सेमिफाइनलमा पुगेको थियो । नेदरल्याण्डस सन् १९९४ पछि क्वाटरफाइनलमा पराजीत भएको छैन । अन्तिम १६ मा अमेरिकालाई ३-१ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको नेदरल्यान्ड्स १९ खेलमा अपराजीत रहेको छ ।
यता आफ्नो अन्तिम विश्वकप खेलिरहेका लियोनल मेस्सी आजको खेलमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै अर्जेन्टिनालाई सेमिफाइनल पुर्याउन चाहन्छन् । मेस्सीले जारी विश्वकपमा तीन गोल गरिसकेका छन् । पछिल्लो ५ खेलमा चार जीत निकालेको अर्जेन्टिनाले पछिल्लो १२ खेलमा गोल गरेको छ । तर नेदरल्याण्डविरुद्ध भएको पछिल्लो तीन खेलमा अर्जेन्टिनाले गोल गर्न सकेको छैन । सन् २०१४ मा भएको विश्वकपको सेमिफाइनल खेलमा अर्जेन्टिनालेले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजीत गरेको थियो ।