२९ कम्पनी कालोसूचीमा, विपद् कोषमा १८ अर्ब मौज्दात

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो ११ दिनमा भएका प्रगति तथा कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी मङ्सिर १ देखि ११ गतेसम्म भएका कामको विवरण सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले मङ्सिर ८ गते जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणका लागि तयार गरिएको एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरिएको जानकारी दिए ।

समन्वय तथा सहजीकरण समितिको बैठकले हालसम्म भएका निर्णयको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै बाँकी निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ । साथै नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका निकाय तथा कार्यालयहरूको आर्थिक वर्ष २०८२/८३ को व्यवस्थापन परीक्षणलाई व्यवस्थित, प्रभावकारी र नतिजामुखी बनाउन पदाधिकारीसँग अन्तरक्रिया गरी आवश्यक निर्देशन दिइएको छ ।

कार्यालयको समग्र व्यवस्थापकीय कार्यसम्पादन सुधार गर्ने उद्देश्यले मङ्सिर १० गते वरिष्ठ व्यवस्थापन समूहको बैठक बसेको थियो । बैठकमा प्रशासनिक तथा व्यवस्थापकीय विषय, कार्यप्रगति समीक्षा, विद्यमान समस्या तथा चुनौती र आगामी कार्यदिशाबारे छलफल गरिएको कार्यालयले जनाएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुँदै आएका वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न र दोहोरोपनाको अवस्था पहिचान गर्न पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको छ ।

राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि नीति प्रयोगशाला निर्देशक समितिका पदाधिकारीबाट राय तथा सुझाव लिई थप परिमार्जन भइरहेको छ । सरकारका विभिन्न निकायबाट सञ्चालन भएका व्यावसायिकता तथा उद्यमशीलता विकास लक्षित सीपमूलक तालिमको मूल्याङ्कन गरी गुणस्तर र प्रभावकारिता बढाउन तथा दोहोरोपन हटाउन सहसचिवको नेतृत्वमा अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ ।

नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउने उद्देश्यले विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीति तयार गर्न सम्बन्धित नीति, ऐन तथा नियमावलीको अध्ययन भइरहेको जनाइएको छ ।

सहसचिव अर्यालका अनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आयोजनामा मङ्सिर १० गते ‘राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षण’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण, नेपाल प्रहरीलगायत निकायका सूचना प्रविधिसम्बद्ध अधिकारी सहभागी थिए । कार्यक्रममा राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको महत्त्व तथा राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० सम्बन्धमा छलफल गरिएको थियो ।

केही समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणाली सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रसँगको समन्वयमा प्राविधिक अद्यावधिक र सुधार गरी पुनः सञ्चालनमा ल्याइएको छ । उक्त प्रणाली हाल नियमित रूपमा सञ्चालन भइरहेको जनाइएको छ ।

तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो
लगानी बोर्डको कार्यालयले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । सन् २०१९ को लगानी सम्मेलनमा सोकेस गरिएको उक्त परियोजना बुट मोडलमा निर्माण गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रियाबाट भारतीय कम्पनी एसजेभीएन लिमिटेड छनोट भएको थियो ।

प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ र ७ गते भएको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका थिए । आयोजनाको प्याकेज–१ अन्तर्गत भारतीय रुपैयाँ ११ अर्ब ४९ करोड २१ लाखको ठेक्का आह्वान भइसकेको छ । आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्यसहित व्यावसायिक सञ्चालन मिति निर्धारण गरिएको छ ।

सार्वजनिक खरिदमा २९ कम्पनी कालोसूचीमा

यस अवधिमा सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनअनुसार कालोसूचीमा राखेको छ । निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श प्रदान गरिएको छ ।

सार्वजनिक खरिदमा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ नेपाल सरकारबाट स्वीकृत भई जारी भएको छ । यसले सार्वजनिक खरिदमा संलग्न श्रमिकको आयस्तर वृद्धि तथा कल्याणलाई लक्षित गरेको छ ।

कार्यालयले सार्वजनिक खरिदसम्बन्धी चारवटा दस्तावेज तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिएको छ । ती दस्तावेजमा अन्य सेवाका लागि स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट, ठूला तथा जटिल परियोजना निर्धारणसम्बन्धी निर्देशिका, ठूला तथा जटिल परियोजनाका लागि मूल्याङ्कन आधार समावेश गरिएको बोलपत्र दस्तावेज तथा फ्रेमवर्क कन्ट्र्याक्टअन्तर्गत वस्तु खरिदसम्बन्धी निर्देशिका र बोलपत्र दस्तावेज रहेका छन् ।

नयाँ नेपाल इलेक्ट्रोनिक सरकारी खरिद प्रणालीको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रबाट विकास गरिएको प्रणालीको प्रयोगकर्ता स्वीकृति परीक्षण गरी आवश्यक सुधारका लागि सुझाव प्रदान गरिएको छ । उक्त प्रणाली कात्तिक १७ गतेदेखि सञ्चालनमा ल्याइएको हो ।

सुशासन र अनुगमनलाई तीव्रता
राष्ट्रिय सतर्कता केन्द्रले प्राविधिक परीक्षणबाट औँल्याइएका गैरअनुरूपता प्रतिवेदनको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली खटाएको छ । काभ्रेका सार्वजनिक निकायमा कार्यरत कर्मचारीले आचारसंहिता पालना गरे/नगरेको अनुगमनका लागि टोली परिचालन गरिएको छ ।

त्यस्तै, मोरङ, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, खोटाङ र रामेछापलगायत जिल्लामा आचारसंहिता अनुगमन, सेवा प्रवाहको अवस्था, सेवाग्राही सर्वेक्षण तथा सदाचार शिक्षा र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न टोली गठन गरिएको छ । काठमाडौँ उपत्यकाभित्रका विभिन्न निकायमा समेत नियमित अनुगमन भइरहेको केन्द्रले जनाएको छ ।

नेपाल ट्रष्टको सम्पत्ति संरक्षण र उपयोगमा जोड
नेपाल ट्रष्टको स्वामित्वमा रहेका सम्पत्तिको खोजबिन तथा व्यावसायिक रणनीतिक योजना तर्जुमा कार्यक्रमअन्तर्गत धादिङको छत्रे देउरालीमा करिब १५ हजार रोपनी क्षेत्रफलको सम्पत्तिमा मङ्सिर १० गते अनुगमन भ्रमण गरिएको छ ।

ट्रष्टका सहसचिव, बोर्ड सञ्चालक समितिका सदस्य तथा प्राविधिक सम्मिलित अध्ययन टोलीले सम्पत्ति संरक्षण तथा दिगो उपयोगमार्फत आयआर्जन गरी राष्ट्रहितमा प्रयोग गर्ने सम्भावनाको अध्ययन गरिरहेको छ । त्यस्तै, ट्रष्टको मङ्सिर २७ गतेको निर्णयअनुसार सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय लिजसम्बन्धी नियमावली तयारी समिति गठन गरिएको छ ।

विपद् उद्धार कोषमा १८ अर्बभन्दा बढी मौज्दात
सहसचिव अर्यालका अनुसार भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मङ्सिर ११ गते बिहान ९ बजेसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ मौज्दात रहेको छ ।

कोष सञ्चालन समितिको गत भदौ १६ गतेको निर्णयअनुसार उक्त कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *