जरिवाना नतिर्ने फर्मको बैंक खाता र सम्पत्ति रोक्का गर्ने विभागको चेतावनी

काठमाडौं । बजार अनुगमनका क्रममा कारबाहीमा परेर जरिवाना तोकिएका व्यवसायी तथा प्रतिष्ठानलाई एक महिनाभित्र रकम दाखिला गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अल्टिमेटम दिएको छ ।

विभागले शुक्रबार सूचना जारी गरी विभिन्न मितिमा गरिएको नियमित तथा आकस्मिक बजार अनुगमनका क्रममा प्रचलित कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि जरिवाना गरिएका कतिपय फर्म, कम्पनी तथा प्रतिष्ठानले हालसम्म रकम दाखिला नगरेको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम निरीक्षण अधिकृतबाट तत्काल जरिवाना गरिएका व्यवसायीले उक्त रकम सरकारी राजस्व खातामा दाखिला गरी त्यसको प्रमाण विभागमा बुझाउनुपर्ने विभागले जनाएको छ ।

विभागले सूचना प्रकाशित भएको मितिदेखि एक महिनाभित्र जरिवाना रकम दाखिला गरी सक्कल भौचर (रसिद) सहित विभागमा अनिवार्य जानकारी गराउन भनेको छ ।

तोकिएको समयभित्र जरिवाना नतिरे व्यवसाय सिलबन्दी गरी कारोबार रोक्का गर्ने, फर्म वा कम्पनीको दर्ता खारेजी तथा इजाजतपत्र र अनुमतिपत्र निलम्बन वा खारेजीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने विभागले चेतावनी दिएको छ ।

त्यस्तै, जरिवाना रकम सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अघि बढाउँदै सम्बन्धित मालपोत कार्यालय तथा बैंक र वित्तीय संस्थामार्फत व्यवसायीको चल–अचल सम्पत्ति र बैंक खाता रोक्का गर्न सकिने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *