सीपीसीको निमन्त्रणामा चीन गएको रास्वपाको प्रतिनिधिमण्डल के सिकेर फर्किँदैछ ?

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदैछ ।रास्वपा सांसद गणेश पराजुलीका अनुसार पार्टी महामन्त्रीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नोभेम्बर १५ देखि २६ सम्म चीनको भ्रमण गरेको हो ।

पराजुलीले भ्रमण नेपाल–चीन सहकार्यका सम्भावनाबारे खुलेर संवाद गर्ने तथा एकअर्कालाई बुझ्ने अवसर बनेको बताएका छन् ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले छेन्दु, हाङझाउ र बेइजिङका विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक क्षेत्र र सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गरेको थियो । टोलीले वेनचुआनमा भूकम्पपछिको पुनर्निर्माण, विपद्पछि बस्ती तथा जनजीवन पुनःस्थापनाका प्रयासबारे पनि स्थलगत अवलोकन गरेको जनाएको छ ।

चिनियाँ निजी क्षेत्रसँगको अन्तरक्रियामा नेपाली उत्पादनलाई चिनियाँ बजारसँग जोड्ने तथा नेपालमा लगानीका अवसर विस्तार गर्ने विषयमा छलफल भएको पराजुलीले उल्लेख गरेका छन् ।

भ्रमणका क्रममा सीपीसीका वरिष्ठ नेता ली शुलेई र रास्वपा महामन्त्रीबीच झन्डै डेढ घण्टा उच्चस्तरीय राजनीतिक संवाद भएको थियो । उक्त संवादमा दुई दलबीच एकअर्काको दृष्टिकोण बुझ्ने तथा आगामी सहकार्यका विषयमा विचार आदानप्रदान भएको पराजुलीले बताएका छन् ।

युवा सीप विकास, नेपाली उत्पादनको बजार विस्तार, पर्यटन, उद्योग, ऊर्जा तथा पूर्वाधारमा चिनियाँ लगानी र विपद् व्यवस्थापनका क्षेत्रमा भएका छलफललाई ठोस परिणाममा पुर्याउन सम्बन्धित निकाय तथा निजी क्षेत्रसँग मिलेर पहल गरिने उनले बताएका छन् ।

भ्रमणका क्रममा आत्मीय स्वागत तथा आतिथ्य प्रदान गरेकोमा सीपीसी र चिनियाँ मित्रहरूलाई धन्यवाद दिँदै पराजुलीले प्रतिनिधिमण्डलका सदस्यहरूप्रति पनि आभार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *