काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षसहित राजनीतिक दल र विषयविज्ञसँग परामर्श गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको भन्दै गुनासो गरेको छ । यद्यपि, कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् भन्दै शुभकामना व्यक्त गरेको छ ।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शनिबार वक्तव्य जारी गर्दै मंसिर ६ गतेदेखि सुरु हुने प्रधानमन्त्री साहको भारत भ्रमण नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन उपयोगी बन्ने विश्वास व्यक्त गरेका छन् ।
शर्माले मित्रराष्ट्रको महत्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्षलगायत राजनीतिक दलसँग परामर्श गर्ने स्थापित लोकतान्त्रिक परम्परा रहेको उल्लेख गर्दै वर्तमान सरकारबाट पनि त्यस्तो अभ्यासको निरन्तरता अपेक्षा गरिएको बताएका छन् ।
कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको पनि वक्तव्यमा उल्लेख छ । त्यसका लागि गत बुधबार जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्श गरेको शर्माले बताएका छन् ।
तर सरकारले प्रमुख प्रतिपक्ष, अन्य राजनीतिक दल तथा विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेको भन्दै कांग्रेसले सरकारले नमागेको औपचारिक सुझाव आफैं अघि सारिरहन उचित नठानेको जनाएको छ ।
प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै विदेश भ्रमणमा जाने भएकाले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी निर्माण हुँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान बलियो हुने शर्माको भनाइ छ ।
सरकारसँग विभिन्न विषयमा असहमति भए पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा कांग्रेसको प्रतिबद्धता स्पष्ट र अटल रहेको उनले बताएका छन् ।
कांग्रेसले प्रधानमन्त्रीको भ्रमण क्षणिक लोकप्रियता वा प्रचारमा सीमित नभई विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माणमा केन्द्रित हुनुपर्ने अपेक्षा गरेको छ ।
भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाभन्दा नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामबाट निर्धारण हुने कांग्रेसको धारणा छ । शर्माले प्रधानमन्त्री साहको भारत भ्रमण पूर्ण सफलताको कामना गर्दै राष्ट्रिय हितमा सार्थक परिणाम हासिल गर्न भ्रमण उपयोगी हुने अपेक्षा व्यक्त गरेका छन् ।


