चीन भ्रमणमा रहेका ‘२० भाइ’ले बिर्सिएपछि…

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद यतिबेला चीन भ्रमणमा छन् । पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन भ्रमणमा गएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपा प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको हो । सांसदहरुको टोली ११ दिन चीनमा रहनेछ । टोलमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा छन् ।

भ्रमणमा जानुअघि सांसदहरुले प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवि लामिछानेसँग भेट पनि गरेका थिए । भेटमा प्रधानमन्त्रीले यो भ्रमण केवल पर्यटकीय भ्रमणमा सीमित नभई दुई देशको हित र नेपालको विकासमा योगदान पुर्याउने उद्देश्यसहित हुनुपर्ने बताएका थिए । त्यस्तै रास्वपा सभापति लामिछानेले चीन भ्रमणका क्रममा नेपाल–चीन सम्बन्धमा मात्रै केन्द्रित रहन र तेस्रो मुलुकका विषय नउठाउन सांसदहरूलाई निर्देशन दिएका थिए । उनले चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्ध, विकास मोडेल, अर्थतन्त्र, प्रविधि, पुनर्निर्माण तथा पार्टी–सरकार सम्बन्धका अनुभव अध्ययन गरेर आउन सुझाव दिएका थिए ।

सांसदहको विदेश भ्रमणलाई लिएर रास्वपाभित्रैबाट विरोध भएको थियो । रास्वपाका सांसदहरु गणेश कार्की, ज्वाला संग्रौला, राजु पाण्डे, निशा डाँगी र आशिका तामाङले भ्रमणको औचित्यमाथि प्रश्न उठाए । विदेश भ्रमणलाई लिएर पार्टीभित्रैबाट प्रश्न उठेपनि टोलीका अरु सदस्यले कुनै प्रतिक्रिया जनाएका थिएनन् । तर रास्वपा सांसद श्रीराम न्यौपानेले चीनको समृद्धि हेर्न होइन, नेपालको समृद्धिको सम्भावना खोज्न म चीन जाँदैछु भन्दै सामाजिक संजालमा लामो लेख नै लेखे । उनले लेखेका थिए, ‘मेरो यो भ्रमणको उद्देश्य घुमफिर वा औपचारिकतामा सीमित हुने छैन। यसलाई आफ्नो देश, जनता र राष्ट्रिय विकासको हितमा उपयोग गर्ने मेरो संकल्प छ । म चीनको कपिपेस्ट गर्नुपर्छ भन्ने पक्षमा छैन । चीन आज जहाँ पुगेको छ, त्यहीँबाट नेपाललाई त्यहाँ पुर्याउने कल्पनाभन्दा चीन नेपालको जस्तै आर्थिक हैसियतमा हुँदा कहाँबाट सुरु भएको थियो, के गरेको थियो र कसरी अगाडि बढेको थियो भन्ने अध्ययन मेरो प्राथमिकतामा रहनेछ।’

यस्तो वाचा गरेर गएका सांसद न्यौपानेले भ्रमणको चौथो दिन सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको भिडियोबाट रास्वपा के भन्छ र के गर्छ भन्ने प्रष्ट भएको छ । भिडियोमा एक सांसदले कांग्रेस नेतृत्वको प्रसंग उठाउँदै ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्ने’ बताएका छन् ।
त्यसपछि महिला सांसदले अदालतको फैसला, कांग्रेसको नेतृत्व र केपी शर्मा ओली तथा महेश बस्नेतको राजनीतिक गतिविधिबारे टिप्पणी गरेको गरेकी छन् । उनले भनेकी छन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर देउवाकोमा मान्यता जानुपर्छ स्थानीय चुनावसम्म । र, ओलीलाई पनि रोक्नुहुन्न।’ संवादका क्रममा केही सांसदले केपी ओली र महेश बस्नेत थप आक्रामक रूपमा प्रस्तुत हुने अनुमान गर्दै उनीहरू राजनीतिक रूपमा बाहिरिने टिप्पणी गरेका छन् । त्यस्तै एक सांसदले भने अरू दलको कमजोरीबाट मात्रै लाभ लिन पर्याप्त नहुने भन्दै रास्वपाले पनि काम गर्नुपर्ने बताएका छन्।

सुन्नुस् संवाद

जुन दिन भिडियो सार्वजनिक भयो त्यही दिन रास्वपाको टोली सिचुआन प्रान्तमा थियो । सिचुवानमा सन् २००८ मा गएको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भएको थियो । त्यो हेरेर सांसद न्यौपानेले फेसबुकमा लेखे, ‘भत्किएका संरचना मात्र होइन, भविष्य पनि पुनर्निर्माण गर्नुपर्ने पाठ सिकियो ! सन् २००८ मे १२ मा चीनको सिचुआन प्रान्तमा गएको ८.० म्याग्निच्युडको विनाशकारी वेनछुआन भूकम्पले करिब ६९ हजार मानिसको ज्यान लियो, लाखौँ परिवार प्रभावित भए र विशाल भौतिक संरचनाहरू ध्वस्त भए । आज, १८ वर्षपछि त्यस भूकम्पबाट प्रभावित पुनर्निर्माण क्षेत्रको अवलोकन गर्दा मेरो मनमा एउटा गम्भीर प्रश्न उब्जिएको छ– एउटा देशले यति ठूलो विपदपछिको पुनर्निर्माणलाई तीन वर्षभित्रै सम्पन्न गर्दै त्यसलाई विकास, आधुनिकीकरण र आर्थिक रूपान्तरणको अवसरमा कसरी बदल्न सक्दोरहेछ ?’ फेसबुकमा यस्तो त लेखे तर भिडियोमा कांग्रेस–एमाले सिद्धिएको फाइदा हामीले लिनुपर्छ भनेर उनै भन्दैथिए । भिडियोको संवाद सुनेपछि बुझिन्छ मानिस जहाँ गएपनि सोच उही ।

त्यस्तै कांग्रेसको आधिकारिकताका विषयमा गगन थापा पक्षले १८ करोड दिएको भन्दै सरकारले पक्राउ गर्न लागेको हल्ला चलाइयो । त्यो हल्ला किन चलाइयो भन्ने कुरा पनि संवादले स्पष्ट पारेको छ, रास्वपाभित्र अरु दलका नेतालाई फसाउन कसरी षड्यन्त्र हुँदैछ भन्ने । नेताहरु चीन, अमेरिका, युरोप जहाँ गएपनि सोच भने उस्तै रहेको पाइयो । जनताले आशा गरेका रास्वपाका नेताहरुको सोच त यस्तो छ भने अब पनि उनीहरुबाट आशा र अपेक्षा गर्नु सही होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *