बाढीपीडितलाई राहत र केरुङ नाका सञ्चालन गर्न चीन प्रतिबद्ध : अध्यक्ष वानमिङ

भक्तपुर ।  चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका काम अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालनका लागि चीनले प्रयास गरिरहेको बताएका छन् ।

तीनदिने नेपाल भ्रमणका क्रममा बुधबार भक्तपुर पुगेका अध्यक्ष वानमिङले नगरप्रमुख सुनिल प्रजापतिसँगको भेटमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भूकम्प, कोरोना महामारी र भोटेकोशी बाढीजस्ता विपद्का समयमा नेपाल र चीनले एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गरे । कठिन परिस्थितिमा पनि दुई देशबीचको मित्रता र सहकार्य कायम रहेको उनको भनाइ थियो ।

वानमिङले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच ऐतिहासिक तथा रणनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको स्मरण गरे । त्यसयता आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटन तथा युवा आदानप्रदानका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार हुँदै आएको उनले बताए ।

भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, घनिष्ठ र मित्रवत् रहेको बताए । सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँग भएको विवाह र तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत तथा बेइजिङमा निर्माण गरेका कलाकृतिले दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई प्रस्ट पारेको उनले उल्लेख गरे ।

सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालको आर्थिक विकासमा चीनले महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको प्रजापतिले बताए । सडक पूर्वाधार निर्माण, उद्योगधन्दा स्थापना तथा ट्रलीबस सञ्चालनलगायत क्षेत्रमा चीनको सहयोग नेपालको विकास यात्रामा महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

भेटपछि चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गरेको थियो । टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी र तालाक्व क्षेत्रको भ्रमण गरेको थियो ।

प्रतिनिधिमण्डलमा चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउन फान, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका उपमहासचिव ची योङच्युन, एसियाली तथा अफ्रिकी मामिला विभागका महानिर्देशक लिउ फाङ र उपनिर्देशक आइ लिनलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *