-डा. सुष्मा साउद
वात दोष बढ्दा शरीरमा के–कस्ता समस्या देखिन्छन् ? यो बुझ्नु एकदमै महत्त्वपूर्ण छ । आज वात दोष बढ्दा के हुन्छ र हामीले के गर्न सक्छौँ भन्नेबारे जाानकारी शेयर गरेकी छु । कतिलाई लामो लाग्दा तर जानकारीहरू महत्त्वपूर्ण छन्, जुन हजुरकै स्वास्थ्यका लागि हो ।
अल्पकेशः कृशो रूक्षो वाचालश्च मानसः ।
आकाशचारी स्वप्नेषु वातप्रकृतिको नरः ।।’
कम कपाल, दुब्ला पातला, रुखोपन, धेरै बोल्ने स्वभाव, मनबाट चञ्चल, सपनामा आकाशमा उड्नेजस्ता लक्षण÷विशेषता भएका मानिस वात प्रकृतिका हुन् । आयुर्वेदअनुसार, वातयुक्त शरीरको स्वामी वायु हो । वात प्रकृतिका शरीर भएका मानिसको तौल बढी हुँदैन । उनीहरू अक्सर पातला हुन्छन् । उनीहरूको मेटाबोलिज्म राम्रो हुन्छ तर चिसो लाग्ने सम्भावना बढी रहन्छ । सामान्यतया उनीहरूको छाला सुक्खा हुन्छ ।
उनीहरू निकै ऊर्जावान र फिट हुन्छन् । वात प्रकृतिको शरीर भएका मानिसलाई खासै निद्रा आउँदैन । उनीहरूमा कामेच्छा बढी हुन्छ । यस खालका मानिस धेरै बोल्ने खालका हुन्छन् । बहुमुखी प्रतिभाका धनी हुन्छन् । आफ्ना भावनाहरू तुरुन्तै अभिव्यक्त गर्छन् । यद्यपि, उनीहरूको स्मरणशक्ति कमजोर हुन्छ भने आत्मविश्वास उच्च हुँदैन । उनीहरू निकै छिटो तनावमा आउँछन् । वात प्रकृतिको शरीर भएका मानिसले भोजनमा धेरैभन्दा धेरै फल, बिन्स, दूग्धजन्य पदार्थ, नट्स आदि खानु राम्रो हुन्छ ।
त्रिदोषमध्ये पहिलो वात दोष हुँदा शरीरमा वायु बढी हुन्छ । कतिपय मानिसको तौल बढेन भने उसको वात दोष असन्तुलित छ भन्ने हो । नाइटोभन्दा मुनि देखिने अक्सर समस्या वात दोषका कारण हुन्छ । कम्मरको समस्या, घुँडा र पैताला दुखाइजस्ता रोग वात दोषमा गनिन्छन् । आकाश र वायु तत्त्वका साथ जन्मेका मान्छेलाई तातो वा गर्मी मौसम मन पर्छ ।
शरीरमा वात दोष बढ्यो भने…
शरीरमा वात दोष बढी भयो भने कब्जियतको समस्या हुन्छ वा अनियमित तरिकाले दिसा लाग्छ । हड्डी जोर्नीमा दुखाइ हुन्छ । छाला सुक्खा र रुखो हुन्छ । तौल कम हुन्छ । पेट फुल्छ । डर र छटपटाहट हुन्छ । गर्मी वातावरण वा परिवेश मन पराउने हुन्छ । माथिका लक्षणहरूले पनि कुनै न कुनै रोगको संकेत गरिरहेका हुन्छन् । वात दोष असन्तुलित हुँदा मल त्याग, स्नायु प्रणाली, जार्नी विकास आदि प्रक्रियामा अनियमितता हुन सक्छ ।जस्तै, निद्रा लाग्दैन, टाउको दुख्छ, कान दुख्छ, दाँतको समस्या देखिन्छ, धेरै तनाव महसुस हुन्छ । यसैगरी मांसपेसीमा अवरोध हुन्छ, गर्दनमा अड्चन पैदा हुन्छ, जोर्नी सुन्निएर दुख्छ (गठिया रोग) ।
वात दोषलाई सन्तुलित गर्ने उपाय
बेलैमा सुत्ने, बेलैमा उठ्ने अर्थात् राति १० बजेभन्दा पहिल्यै सुत्ने र बिहान ८ बजेसम्म उठिसक्ने । सन्तुलित दिनचर्यामा पनि खास ध्यान दिने । आयुर्वेदअनुसार दिनचर्या कस्तो हुनुपर्छ भन्नेबारे म आगामी पोस्टमा खुलाउने छु । वात दोषलाई सन्तुलनमा राख्न तातो पेय पदार्थ पिउने, ताजा खानेकुरामा जोड दिनुपर्छ । स्वादमा गुलियो हुने तर अमिलो नहुने खाने कुरा खानुपर्छ । आफ्नौ दैनिक भोजनमा अदुवा, कालो मरिच र जिरा आदि खाने गर्नुपर्छ । रक्सी, क्याफिनयुक्त पेय र चकलेटबाट परै रहनुपर्छ । नियमित रूपमा व्यायाम दिनचर्यालाई ध्यान दिनुपर्छ । वात कम गर्ने जडीबुटी खानुपर्दा आयुर्वेद चिकित्सकको सल्लाहअनुसार खानुपर्छ ।
