काठमाडौं । युईएफए नेसन्स लिगअन्तर्गत भएको खेलमा नेदरल्यान्ड्सले ग्रीसमाथि फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले ग्रीसलाई ७–० गोलले पराजित गरेको हो ।
नेदरल्यान्ड्सको जितमा तिज्जानी रिइन्डर्सले ह्याट्रिक पूरा गरे । क्रिसेन्सियो समरभिलले छैटौं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । त्यसपछि रिइन्डर्सले १२औं, १८औं र ३३औं मिनेटमा लगातार तीन गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
युरिएन टिम्बरले ४०औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा नेदरल्यान्ड्सले ५–० को अग्रता बनाएको थियो । टिम्बरले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने डोनियल मालेनले ६२औं मिनेटमा गोल गर्दै टोलीलाई ७-० गोलको फराकिलो जित दिलाए ।
यस जितसँगै नेदरल्यान्ड्स समूह ‘ए२’ को शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलबाट ११ अंक जोडेको नेदरल्यान्ड्सले क्वार्टरफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
ग्रीस र जर्मनीको समान पाँच खेलबाट आठ–आठ अंक छ । गोल अन्तरका आधारमा ग्रीस दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् । पाँचवटै खेलमा पराजित सर्बिया भने अंकविहीन रहँदै समूहको पुछारमा छ ।
