छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने, गंगासागरमा पूजाअर्चना गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन् ।
रास्वपा मधेश प्रदेश कार्यालयका अनुसार सभापति लामिछाने पत्नी निकिता पौडेलसहित शनिबार जनकपुरधाम पुग्ने कार्यक्रम छ ।

उनले जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गंगासागरमा छठ पर्वको पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन् ।
निर्धारित कार्यक्रमअनुसार लामिछाने शनिबार मध्यान्ह १२ः१५ बजे जनकपुर विमानस्थल पुग्नेछन् । दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि दिउँसो २ बजेदेखि ४ बजेसम्म पार्टीका विभिन्न तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया गर्नेछन् । साँझ ५ बजे छठ पर्वको खरना तथा अन्य धार्मिक विधिको तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेशका महामन्त्री मनिषकुमार साहले जानकारी दिएका छन् ।

आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म लामिछानेले जनकपुरधामसहित महोत्तरी र धनुषाका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलको दर्शन तथा अवलोकन गर्नेछन् ।

उनले जानकी मन्दिर, मुखियापट्टीस्थित लक्ष्मीनारायण मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिर, रामजानकी मरवा र धनुषाधाम मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।

आइतबार दिउँसो ३ बजे गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन् । सोमबार बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने कार्यक्रममा सहभागी भएपछि उनी जनकपुर विमानस्थलबाट काठमाडौं फर्किने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *