अमेरिकामा उडानमा लगाइएको राष्ट्रव्यापी रोक हट्यो, ४ हजार ७ सय उडान रद्द

रोयटर्स । अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले प्राविधिक समस्याका कारण देशभरका विमानस्थलबाट हुने उडानमा लगाएको रोक हटाएको छ ।हवाई ट्राफिक नियन्त्रण प्रणालीमा समस्या आएपछि शुक्रबार सबै प्रस्थान उडानमा अस्थायी रोक लगाइएको थियो । उक्त समस्याका कारण करिब ४ हजार ७ सय उडान रद्द भएका छन् भने दशौँ हजार यात्रु प्रभावित भएका छन् ।

अमेरिकी यातायातमन्त्री सिन डफीले स्विच र राउटरमा अत्यधिक डाटा प्रवाह हुँदा प्रणालीमा समस्या आएको बताएका छन् । उनका अनुसार स्थानीय समयअनुसार दिउँसो ३ः३६ बजे देशभरका राडार तथा सञ्चार प्रणालीमा अस्थिरता देखिएपछि उडान रोक्ने निर्णय गरिएको थियो ।

उनले अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणाली निकै पुरानो रहेको उल्लेख गर्दै यसको आधुनिकीकरणका लागि ५० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताए । अत्याधुनिक हवाई ट्राफिक प्रणाली निर्माणका लागि संसद्ले आवश्यक स्रोत उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
यसअघि तीन स्रोतले रक्षा तथा प्रविधि कम्पनी एलथ्री ह्यारिस (L3Harris) द्वारा सञ्चालित हवाई ट्राफिक नियन्त्रणसम्बन्धी दूरसञ्चार नेटवर्कमा आएको समस्यालाई घटनासँग जोडेका थिए ।

यसैबीच, अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उडान रोक साइबर आक्रमणका कारण नभएको स्पष्ट पारेका छन् । हालै माइक्रोसफ्टका सेवामा देखिएका अवरोधसँग पनि घटनाको सम्बन्ध नरहेको उनले बताए । उनले सर्वसाधारण डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उडान रोक साइबर आक्रमण वा कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित भएको नदेखिएको बताएका छन् ।
सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकामा सबै प्रस्थान उडानमा राष्ट्रव्यापी रोक लगाइएको यो दोस्रो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *