नेपाल आँखा अस्पताललाई कदर–पत्र प्रदान

काठमाडौँ । जनस्वास्थ्य कार्यालय, काठमाडौँले आर्थिक वर्ष २०२÷०३ मा स्वास्थ्यसम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पुर्याएको योगदान, सहयोग, समन्वय तथा सहकार्यको उच्च मूल्याङ्कन गर्दै नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरलाई कदरपत्र प्रदान गरेको छ ।
बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय, काठमाडौँद्वारा आयोजित वार्षिक समीक्षाका अवसरमा अस्पतालाई कदरपत्र प्रदान गरिएको हो ।

त्यसअवसरमा काठमाडौं जिल्ला समन्वय समितिका उपप्रमुख शान्ति पाण्डेले अस्पतालका प्रमु्ख कार्यकारी अधिकृत धर्मराज गोसाईलाई कदर प्रमाणपत्र प्रदान गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले त्यस आर्थिक बर्षमा जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा फरपिङ्ग माध्यामिक विद्यालय दक्षिणकालीका ५०३, भगवती माध्यामिक विद्यालय शंखरापुरमा ३०३, पञ्चकन्या माध्यामिक विद्यालय दक्षिणकालीका २९३ जना छात्रछात्रका आँखा परीक्षण निःशुल्क रुपमा चश्मा उपलब्ध गराएको थियो ।

त्यस्तै दक्षिणकाली नगरपालिका छैमलेमा अस्पतालले निःशुल्क आँखा परीक्षण शिविर संचालन गरी अस्पतालले २०० जनाको नेत्र परीक्षण गरेको थियो ।

त्यस्तै जनस्वास्थ्य कार्यालयसगको सहकार्यमा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत सिएमए, अनमी, हेल्थ एसिस्टेन्ट, स्टाफ नर्स गरी ३९ जनालाई आँखा स्वास्थ्य सम्बन्धी प्रशिक्षण समेत दिएको अस्पतालले जनाएको छ ।

नेपालको पहिलो आँखा अस्पतालका रूपमा सन् १९७४ मा स्थापना भएको उक्त अस्पतालले सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम, निःशुल्क आँखा शिविर, विद्यालय आँखा स्वास्थ्य कार्यक्रम तथा विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइले अस्पतालले समुदायस्तरमा सुलभ र गुणस्तरीय आँखा उपचार सेवा थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *