काठमाडौं । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै अल नासरले साउदी प्रो लिगमा लगातार चौथो जित दर्ता गरेको छ । बिहीबार राति भएको खेलमा अल नासरले अल खोलोदलाई ५–३ गोलले पराजित गरेको हो ।
अल अवाल पार्कमा घरेलु टोलीलाई जित दिलाउन रोनाल्डोले तीन गोल गरे । यस्तै, एन्जेलो र साडियो मानेले समान एक–एक गोल थपे । अल खोलोदका लागि जुलियन डोमिङ्गुएजले दुई तथा लोइक इस्सोम्बाले एक गोल गरे ।
खेलको १६औँ मिनेटमा डोमिङ्गुएजले गोल गर्दै अल खोलोदलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसअघि १२औँ मिनेटमा रोनाल्डोले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा रद्द भएको थियो ।
२४औँ मिनेटमा जोआओ फेलिक्सको पासमा एन्जेलोले गोल गर्दै अल नासरलाई खेलमा फर्काए । ३८औँ मिनेटमा फेलिक्सकै पासमा मानेले गोल गरेपछि अल नासरले २–१ को अग्रता बनायो । तर, पहिलो हाफको इन्जुरी समयमा इस्सोम्बाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।
दोस्रो हाफमा भने रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरे । ६६औँ मिनेटमा फेलिक्सको पासमा गोल गर्दै उनले अल नासरलाई ३–२ को अग्रता दिलाए । त्यसको छ मिनेटपछि फेलिक्सकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले टोलीको अग्रता ४–२ मा पुर्याए ।
८१औँ मिनेटमा मानेको पासमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे । उनको तेस्रो गोलसँगै अल नासरले ५–२ को बलियो अग्रता बनाएको थियो । खेलको दोस्रो हाफको इन्जुरी समयमा डोमिङ्गुएजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे पनि अल खोलोदको हार टार्न सकेनन् ।
यस जितसँगै अल नासरले ११ खेलबाट २८ अंक जोडेको छ । टोली अंकतालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको अल खोलोद १२ अंकसहित दसौँ स्थानमा रहेको छ ।
