काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएको सहमतिविपरीत छानबिन समिति गठन गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले समितिको गठन प्रक्रिया र कार्यक्षेत्र तत्काल नसच्याए पुनः सत्याग्रहसहितका आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
बुधबार विज्ञप्ति जारी गरी डा. केसीले गत कात्तिक २१ गते सरकारसँग भएको सहमतिको १८ दिनपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र सहमतिको मर्म र उद्देश्यभन्दा फरक रहेको बताएका हुन् ।
सरकारले चिकित्सा शिक्षाका विज्ञलाई समितिमा समावेश नगरेको र समिति गठन गर्न झण्डै तीन साता लगाएर एक सातामात्र कार्यावधि तोकेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
सहमतिको बुँदा नम्बर १ मा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारण र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सिट वृद्धि गर्दा निर्धारित मापदण्ड पालना भए÷नभएको छानबिन गर्ने उल्लेख छ ।
त्यस्तै, मापदण्ड उल्लङ्घन वा स्वार्थको द्वन्द्व देखिएमा संलग्न पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने र छानबिन प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने सहमति भएको थियो ।
तर, मन्त्रालयले गठन गरेको समितिलाई सम्बन्धित संस्थाको स्थलगत अनुगमन गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्षम भए÷नभएको मूल्याङ्कन गर्ने जिम्मेवारी मात्र दिइएको केसीको भनाइ छ । यसले निर्णय प्रक्रिया, मापदण्डको पालना, स्वार्थको द्वन्द्व र जिम्मेवार पदाधिकारीको जवाफदेहितासम्बन्धी विषयलाई समेट्न नसकेको उनले बताएका छन् ।
आफूहरूको माग कुनै व्यक्ति वा संस्थालाई पूर्वाग्रहपूर्ण ढङ्गले दोषी ठहर गर्नु नभई निर्णय प्रक्रियाको निष्पक्ष छानबिन र जिम्मेवार पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्नु रहेको केसीले स्पष्ट पारेका छन् ।
यसैगरी, सहमतिको बुँदा नम्बर ४ अनुसार गठित सहमति कार्यान्वयन अनुगमन कार्यदलको बैठकमा सदस्यहरू डा. बद्री रिजाल, विजयबाबु शिवाकोटी र डा. अमृत जैसीलाई सहभागी नगराइएको भन्दै उनले आपत्ति जनाएका छन् ।
सम्झौताका सबै बुँदा अक्षरशः कार्यान्वयन गर्न सरकारसँग माग गर्दै केसीले अन्यथा सत्याग्रहलगायतका आन्दोलन सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुने उनको भनाइ छ ।
