-नारायण गाउँले ।
प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म र प्रहरी प्रमुखदेखि सेनापतिसम्मको नाम जोडिएर आएको यस्तो गम्भीर काण्डमा हलुका टिप्पणी गर्न सकिएन । यो काण्डले सुशासनको जग र विश्वास नै हल्लाएको छ । जसले छानबिनको माग गर्ने हो, जसले छानबिन गर्ने हो, जसले फैसला गर्ने हो र जसले कार्वाही गर्ने हो, ती सबैको नाम एउटै धागोमा उनिएर आउनु दुर्भाग्यपूर्ण छ ।
देखिएका डटहरू जोड्ने हो भने एउटा भयानक चित्र तैयार हुने रहेछ । सत्य त्यस्तो नहोस् भन्ने कामना छ । कहिलेकाहीँ दृश्य र सत्य फरक हुन सक्छ । अहिले पनि त्यस्तै होस् । देउवादेखि ओलीसम्मको नाम पनि बिचौलियासँग जोडिएकाले हामीले तिनलाई भ्रष्ट घोषणा गरेका हौँ । आफ्नै हातले घूस लिएको या मागेको तथ्य हामीसँग छैन । अहिले त सिङ्गो देश नै बिचौलियाको नेक्ससमा घुमेजस्तो दृश्य देखिएको छ ।
लोकतन्त्र र सुशासनको आधारस्तम्भ भनेको जबाफदेहिता हो । प्रधानमन्त्री बालेनकै नाम जोडिन आएको यो काण्डमा उनले जबाफ दिनु आवश्यक छ । किन वरिष्ठता मिचेर चौथो नम्बरका व्यक्ति प्रधानन्यायाधीश बनेका थिए भन्ने प्रश्न पनि अझै अनुत्तरित छ । नाम जोडिएकै भरमा त्यो तथ्य बन्दैन । तर शङ्काको सुई घुमेपछि र यति भयानक स्तरको भ्रष्टाचारको विषय उठेपछि जवाफ त दिनैपर्छ ।
मेरो व्यक्तिगत अनुभूतिमा अदालतसँग सेटिङ नमिलेसम्म भविष्य असुरक्षित हुनसक्ने धेरै नेता र शक्तिशाली खेलाडीहरू राजनीति वरपर छन् । बालेन आफैँमा अपवाद हुन सक्छन् । शुद्ध मनले चाहने हो भने उनले दबाब र तत्कालीन नाफाघाटा बिर्सेर न्यायालयलाई शुद्ध बनाउन सक्छन् । यति ठूलो चक्रव्यूह चिर्नु पक्कै सजिलो छैन । आफ्नै दलका अनुहार पनि होलान् । यस्तै काण्डमा कसैको नाम मुछिनेबित्तिकै अनुसन्धानबिनै समाइहाल्ने र कसैको पक्षमा मौन साधेर बस्नेजस्तो सेलेक्टिभ जस्टिस पनि देखिन हुँदैन ।
तर यो सङ्कटमात्रै नभएर ऐतिहासिक अवसर पनि हुनसक्छ । यदि यो काण्डमा देखिएका डट सही हुन् र प्रधानमन्त्री कार्यालयसम्म नै त्यो बाछिटा पुगेको हो भने अब यो देश पशुपतिनाथले मात्रै बचाउन सक्लान् । तर बालेन ओभानो छन् र यो जालो तोड्न प्रतिबद्ध छन् भने हाम्रो पूर्ण साथ र शुभेच्छा रहनुपर्छ । सत्यको पक्षमा एक्लै भए पनि निर्मम भएर लड्ने साहस उनलाई मिलोस् ! आरोपप्रत्यारोप भन्दा पनि देशको न्यायिक छवि नै दाउमा रहेको बेला संयमित र प्रभावकारी कदम चाल्नु आवश्यक छ । तर यसको सुरुवात देखिने र सुनिने गरी उनले नै गर्नपर्छ । मौनतालाई जवाफदेहिता भन्न मिल्दैन ।
