काठमाडौं । थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिला १४ किलो थाई गाँजासहित पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार हवाई मार्गबाट नेपाल आउने यात्रुको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा, गौचरबाट खटिएको प्रहरी टोलीले सोमबार बाटिक एयरको उडान नम्बर ओडी १८२ मार्फत नेपाल आएका उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ४६ वर्षीया शबानाबानु यार महम्मद शेख र ३५ वर्षीया सरिफा अब्बास अन्सारी रहेका छन्। उनीहरू दुवै भारतीय नागरिक हुन्।
प्रहरीले उनीहरूको साथबाट १४ किलो गाँजा, दुई थान राहदानी र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै महिलामाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
