सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा। पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमका महिला अहिले फूलको स्याहारमा व्यस्त छन् । बारीभरि फुलेका सयपत्रीले तिहार आगमनको मात्र सङ्केत गर्दैनन्, आफ्नै श्रमबाट आम्दानी गर्ने स्थानीय महिलाको सपना पनि उजागर गर्छ ।

एकातिर आफ्नै गाउँमा रोजगारीको अवसर, अर्कोतिर सामूहिक प्रयासबाट आत्मनिर्भर बन्ने आशा । यही उद्देश्यसहित स्थानीय महिलाले छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा हुर्काएका छन् । फूल राम्रोसँग फुलेपछि उनीहरू यस वर्ष तिहारमा राम्रो आम्दानी हुने अपेक्षामा छन् ।

सयपत्री फूल कृषक आमासमूह गठन गरेर सुरु गरिएको खेतीमा करिब २५ हजार लगानी गरिएको छ । समूहकी संयोजक कविता बस्नेतका अनुसार यस वर्ष फूल बिक्रीबाट तीन लाखसम्म आम्दानी हुने अनुमान गरिएको छ । ‘फूलखेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छौँ’, बस्नेतले भनिन् ।

तिहार नजिकिँदै गर्दा समूहका सदस्यलाई फूल टिप्ने, माला उन्ने र बिक्रीको तयारी गर्ने चटारो छ । एउटा माला १०० देखि १५० सम्ममा बिक्री हुने अपेक्षा छ ।

सामूहिक फूलखेतीले महिलालाई घरायसी जिम्मेवारीसँगै आयआर्जनमा जोडिने अवसर दिएको छ । खेतीको स्याहारदेखि माला तयार पार्नेसम्मका काममा समूहका सदस्य जुटेका छन् । तर फूल उत्पादन गर्नुमात्र पर्याप्त हुँदैन । समयमै बिक्री गर्न नसके फूलको गुणस्तर घट्ने र आम्दानीमा असर पर्ने जोखिम रहन्छ । सम्भावित वर्षाबाट फूल जोगाउन समूहले माला उनेर कोल्ड स्टोरमा भण्डारण गर्ने तयारी गरेको संयोजक बस्नेतले बताइन् ।

तिहारमा पूजाआजा, घर सजावट र मालाका लागि सयपत्रीको माग बढ्छ । स्थानीयस्तरमै उत्पादन गर्नसके बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम हुने र स्थानीय किसानलाई राहत पुग्न जान्छ ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले फूलखेतीले स्थानीय महिलाको आयआर्जन बढाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताए । ‘स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता रहँदैन’, नगरप्रमुख थोप्राले भने, ‘फूलखेतीलाई थप क्षेत्रमा विस्तार गरी व्यावसायिक रूपमा अघि बढाउन नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।’

उनका अनुसार नगरपालिकाले फूलखेतीलाई प्रोत्साहन गर्न बिरुवा खरिदमा सहयोग गरेको थियो । स्थानीय उत्पादनको बजारीकरण र भण्डारणमा ध्यान दिनसके यसलाई दिगो आयआर्जनको माध्यम बनाउन सकिने उनको भनाइ छ ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले महिलाले फूलखेती गर्ने योजना सुनाएपछि समूह गठन गरी व्यवस्थित रूपमा अघि बढ्न सुझाव दिएको बताइन् । महिलालाई आत्मनिर्भर बनाउन र उनीहरूको प्रयासलाई निरन्तरता दिन सहजीकरण भइरहेको उनको भनाइ छ ।

‘महिलाले फूलखेती गर्ने योजना सुनाएपछि समूह गठन गरेर व्यवस्थित रूपमा खेती गर्न सुझाव दिएका थियौँ’, उपप्रमुख कार्कीले भनिन्, ‘महिलालाई आत्मनिर्भर बनाउन र उनीको प्रयासलाई निरन्तरता दिन आवश्यक सहजीकरण गरिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *