काठमाडौँ । एकैपटक ४२ दिनको हाजिरी गरेको आरोप लागेका जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनीमाथि छानबिन र कारबाहीको मागसहित असोज २३ गते उजुरी दर्ता भएको हो ।
प्रथम सचिव यादवलाई कारबाहीको माग गर्दे राष्ट्रिय सतर्कता केन्द्रमा यसअघि नै गत भदौमा उजुरी परेर अनुसन्धानको चरणमा रहेको बताइएको छ
एकैचोटि हाजिर गर्नु सुशासन विरुद्धको कदम भएको उल्लेख गर्दै उजुरकर्ताले हाजिरीसम्बन्धी अनियमितता तथा आर्थिक अनुशासन उल्लंघनमा कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।
‘सार्वजनिक पदमा कार्यरत व्यक्तिको हाजिरी तथा सरकारी अभिलेखको विश्वासनीयतामाथि प्रश्न उठेको तथा संवेदनशील विषयमा प्रमाण नष्ट वा प्रभावित हुन नदिन सम्बन्धित अभिलेखहरु तत्काल सुरक्षित राखी निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गरियोस् भन्ने विशेष अनुरोध गर्दछु’, उजुरीमा उल्लेख छ ।
सार्वजनिक सेवाको अनुशासन, पदको जिम्मेवारी तथा राज्यबाट प्राप्त हुने तलब–भत्ता र अन्य सेवासुविधाको वैधतामाथि गम्भीर प्रश्न उठ्ने दाबी उजुरीमा छ।
अख्तियारलाई यादवले लिएको उक्त अवधिको तलब, भत्ता तथा अन्य सरकारी सुविधाको विवरण समेत निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न आग्रह गरिएको छ।
जर्मनीको नेपाली राजदूतावासमा कार्यरत प्रथम सचिव रन्जन यादवले एकैदिन ४२ दिनको हाजिरी गरेको विषयमा प्रमाणसहित उजुरी आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवम् सुचना अधिकारी पर्वत गिरीका अनुसार नेपाली राजदुतावास जर्मनीको उजुरी प्राप्त भए पश्चात सम्बन्धित शाखामा पठाइएको बताए ।
प्रथम सचिव यादवमाथि पत्रकार धम्काएको, दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएका दूतावासका पत्रहरू बाहिर दिएको तथा दूतावासको आधिकारिक फेसबुक पेजका सूचनाहरु तोडमोड गरेको आरोप समेत छ।
