काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको र स्टन्टबाजीमा केन्द्रित भएको आरोप लगाएका छन् ।
आइतबार एमाले सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सरकार त्यसतर्फ गम्भीर नदेखिएको आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले विपद् व्यवस्थापनका लागि सरकारले सर्वदलीय समिति गठन गर्नेसम्मको फराकिलोपन देखाउन नसकेको बताए।
उनले यसअघि भोटेकोसी र त्रिशूली क्षेत्रमा बाढी आउँदा हेलिकोप्टरको दुरुपयोग भएको र उद्धार तथा राहतका काम समयमा हुन नसकेको आरोप लगाए ।
अध्यक्ष ओलीले केही मन्त्रीले सरकारी हेलिकोप्टरलाई कुनै संस्थाको निजी सम्पत्तिजस्तो गरी प्रयोग गरेको आरोपसमेत लगाए। हेलिकोप्टर चढ्न पाउने अवसर पाएजस्तो गरी त्यसको प्रयोग गरिएको उनको टिप्पणी थियो।
अध्यक्ष ओलीले विपद्का बेला प्राप्त वैदेशिक सहयोगको समेत उचित सदुपयोग हुन नसकेको बताए। सहयोग समयमा स्वीकार नगर्दा उद्धारमा ढिलाइ भएको र त्यसले मानवीय क्षति बढाएको हुन सक्ने उनको भनाइ थियो।
उनले भने, ‘वैदेशिक सहयोगको उचित सदुपयोग गर्न सकिएन। समयमा स्वीकारिएन। जसले गर्दा अनावश्यक रूपमा उद्धारको अभावमा थुप्रै नागरिकहरूले ज्यान गुमाउनु परेको भन्न सकिन्छ। यसपटक त्यस्तो नहोस् ।’
कार्यक्रममा अध्यक्ष ओलीले आफूमाथि जति प्रहार गरेर पनि नढल्ने बताए । उनले भने, ‘नजिकै आउँछ, कमरेड भन्छन्, ग्याम्म छुरी हान्छ। यो पनि देखियो । भीष्म पितामह शरशय्यामा ढलेका थिए, धेरै बुढो भइसकेका थिए। म त्यति बुढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ ।’
