रोयटर्स । चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावे अमेरिकामा इरानसँगको व्यापारबारे बैंकहरूलाई गलत जानकारी दिएको तथा अमेरिकी कम्पनीहरूको व्यापारिक गोप्य सूचना चोरी गरेको आरोपमा दोषी ठहर भएको छ ।
न्युयोर्कको संघीय अदालतमा मंगलबार भएको सुनुवाइमा जुरीले हुवावेलाई १२ वटा आपराधिक अभियोगमध्ये १० वटामा दोषी ठहर गरेको हो । बैंक ठगी, वायर ठगी, प्रतिबन्ध उल्लङ्घन तथा व्यापारिक गोप्य सूचना चोरी गर्ने षड्यन्त्रसम्बन्धी अभियोगमा कम्पनी दोषी ठहर भएको छ ।
तर न्याय प्रक्रियामा अवरोध पुर्याउने षड्यन्त्र र आपराधिक गिरोहका रूपमा काम गरेको आरोपमा भने जुरीले हुवावेलाई सफाइ दिएको छ ।
यो आपराधिक मुद्दा सन् २०१८ मा सुरु भएको थियो । त्यसको एक वर्षपछि अमेरिकी सरकारले हुवावेलाई प्रतिबन्धित सूचीमा राख्दै अमेरिकी प्रविधि तथा उत्पादनमा पहुँच सीमित गरेको थियो । हुवावेले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गर्न सक्ने भन्दै अमेरिकाले त्यस्तो कदम चालेको थियो ।
दुई महिनाभन्दा बढी चलेको सुनुवाइमा अभियोजन पक्षले ६० भन्दा बढी साक्षी प्रस्तुत गरेको थियो भने प्रतिरक्षा पक्षले १५ जना साक्षी बोलाएको थियो । कम्पनीलाई कस्तो सजाय हुनेछ भन्ने स्पष्ट भइसकेको छैन । अमेरिकी जिल्ला न्यायाधीश एन डोनेलीले सन् २०२७ सेप्टेम्बर १४ मा सजाय निर्धारण गर्ने कार्यक्रम छ ।
सन् २०१२ र २०१३ मा रोयटर्सले प्रकाशित गरेका समाचारले इरानमा हुवावेको गतिविधिबारे खुलासा गर्न सहयोग गरेको थियो । ती समाचारहरू सुनुवाइका क्रममा पनि चर्चामा आएका थिए । गत साता मुद्दाको अन्तिम बहसका क्रममा अभियोजनकर्ता मेरिडिथ अरफाले सञ्चारमाध्यमले हुवावेको इरानमा सञ्चालन भइरहेको कारोबारबारे प्रश्न उठाएपछि बैंकहरूले पनि कम्पनीको गतिविधिबारे चासो लिन थालेको बताएकी थिइन् ।
हुवावेका वकिल ब्रायन हेबरलिगले दोषी ठहर भएकोमा कम्पनी निराश रहेको बताएका छन् । यद्यपि, आपराधिक गिरोहका रूपमा काम गरेको अभियोगमा सफाइ पाउनु कम्पनीको ‘इमानदार अनुपालन संस्कृति’को पुष्टि भएको उनको दाबी छ ।
‘हामी यस फैसलाविरुद्ध अपिल गर्ने अपेक्षा गर्छौं,’ उनले पत्रकारहरूसँग भने । अमेरिकी अभियोजनकर्ता जोसेफ नोसेलाले हुवावेमाथि अमेरिकी राष्ट्रिय सुरक्षा जोखिममा पार्ने, अमेरिकी व्यापार प्रणालीको विश्वसनीयता उल्लङ्घन गर्ने र अमेरिकी कानुन कार्यान्वयनमा अवरोध पुर्याउने गतिविधि दशकौँदेखि जारी रहेको आरोप लगाएका छन् । यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासले तत्काल प्रतिक्रिया दिएको छैन ।
