स्टकहोम । निद्रा र भोक नियन्त्रण गर्ने अणु, डिएनए सम्पादन तथा नयाँ पुस्ताको सिक्वेन्सिङ प्रविधिसम्बन्धी अनुसन्धान यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कारका सम्भावित दाबेदारका रूपमा चर्चामा छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार बिहान पुरस्कार विजेताको घोषणा गर्नेछ ।
क्लेरिभेटले भोक नियन्त्रणसँग सम्बन्धित ग्लुकागन–जस्तो पेप्टाइड–१ (जीएलपी–१) सम्बन्धी अनुसन्धानलाई सम्भावित दाबेदारका रूपमा अघि सारेको छ । यस क्षेत्रमा क्यानाडाली वैज्ञानिक डेनियल ड्रकर, डेनिस वैज्ञानिक जेन्स जुल होल्स्ट र अमेरिकी रसायनशास्त्री स्वेतलाना मोजसोभको नाम चर्चामा छ ।
त्यस्तै, आणविक तहमा सतहको गुण परिवर्तन गर्ने ‘सेल्फ–एसेम्बल मोनोलेयर्स’ (एसएएम) विकासमा योगदान पुर्याउने अमेरिकी वैज्ञानिक डेभिड अल्लारा, राल्फ नुजो र इजरायली वैज्ञानिक ज्याकब सागिभ पनि सम्भावित दाबेदारमा छन् । प्रोटिनभित्र इलेक्ट्रोनको गतिबारे अनुसन्धान गर्ने ह्यारी ग्रे र जे विङ्कलर तथा सौर्य कोषसम्बन्धी अनुसन्धानका माइकल ग्र्याटजेलको नाम पनि चर्चामा छ ।
डिएनए सम्पादनतर्फ डेभिड लिउ तथा नयाँ पुस्ताको डिएनए सिक्वेन्सिङमा योगदान पु¥याउने शङ्कर बालासुब्रमण्यम र डेभिड क्लेनरम्यान सम्भावित दाबेदार मानिएका छन् । निद्रा नियमनसम्बन्धी ओरेक्सिन अनुसन्धानका लागि इमानुएल मिग्नोट, मासासी यानागिसावा र लुइस डे लेसियाको नाम पनि अघि सारिएको छ ।
ब्याटरी प्रविधिका जीन–मेरी तारास्कन, जटिल कार्बोहाइड्रेट तथा ग्लाइकोप्रोटिन निर्माणका ची–ह्युई वोङ र औषधि वितरण तथा टिस्यु इन्जिनियरिङका रोबर्ट ल्याङ्गर पनि सम्भावित दाबेदारमा छन् ।
गतवर्ष सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमार याघीलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । यस वर्ष बिहीबार साहित्य, शुक्रबार शान्ति र अक्टोबर १२ मा अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुनेछ । नोबेल पुरस्कारमा प्रमाणपत्र, स्वर्ण पदक र एक करोड २० लाख स्विडिस क्रोनर प्रदान गरिन्छ ।
