एजेन्सी । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।
नाइजेरियाली वायुसेनाका अनुसार एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य सवार थिए । विमान नियमित उडानका क्रममा देशको आर्थिक राजधानी लागोसतर्फ जाँदै थियो ।
उडान भरेको केही समयपछि विमान राडारबाट सम्पर्कविहीन भएको थियो । खोजीका क्रममा ओन्डो राज्यको इग्बोकाडा सहरस्थित नदी किनारमा रहेको नौसैनिक अड्डानजिक विमानको भग्नावशेष फेला परेको अधिकारीहरूले बताएका छन् ।
नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले सुरुमा विमानमा ३२ जना सवार रहेको बताएका थिए । तर, पछि वायुसेनाले यात्रु र चालक दलका सदस्य गरी २५ जना मात्रै विमानमा रहेको स्पष्ट पारेको हो ।
दुर्घटनाको कारण पत्ता लगाउन नाइजेरियाली वायुसेनाले अनुसन्धान थालेको छ । घटनापछि राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।
