अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माणमा जोड दिन प्रचण्डको आग्रह

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको शनिबार स्थलगत अवलोकनपछि उनले बाढीबाट ठूलो मानविय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताएका छन् । ‘भौतिक क्षति ठूलै भएको छ । अब बाढी प्रभावितका लागि राहतसँगै अब अस्थायी र स्थायी पुनर्निर्माण तथा पुनःस्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्छ’, उनले भने ।

संयोजक दाहालले विपद्पछि नेकपाले सुरुदेखि आफ्नोतर्फबाट पहल गर्दै आएको बताए । बाढी आएलगत्तै पार्टीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन आह्वान गरेको र त्यसपछि बैठक बसेर विपद्पछिको अवस्थाबारे छलफल गरिएको उनको भनाइ छ ।

विपद् व्यवस्थापनसम्बन्धी अनुभव भएका पार्टी नेता गङ्गालाल तुलाधरको नेतृत्वमा कामको संयोजन गर्न समिति गठन गरिएको जानकारी दिँदै उनले पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए ।

उनले बाढी प्रभावित क्षेत्रमा पार्टीको युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसीएल)ले गरेको कामको प्रशंसा गरे । ‘हाम्रा युवाहरू, मुख्यतः वाइसीएलले यसपटक प्रभावित क्षेत्रमा गएर समन्वयात्मक काम गरेका छन्, म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु’, दाहालले भने । दाहाल आज बाढीका कारण प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिन धादिङको गल्छी आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *