धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’

धनकुटा। धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ । निसान मन्दिर पुग्ने मात्र होइन, धनकुटा आउने अधिकांश पर्यटक उक्त घण्टीमा तस्बिर खिचेर फर्कने गरेका छन् ।

सानासाना घण्टीलाई जोडेर बनाइएको यो ‘महाघण्टी’मा करिब ५०० भन्दा बढी घण्टी समेटिएका छन् । यसको तौल करिब १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए ।

“निसान मन्दिर पुनर्निर्माणको क्रममा २०७७ सालमा यो महाघण्टीको निर्माण गरिएको हो । मन्दिर परिसरमा रहेका साना घण्टीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि ती घण्टी हटाउने तयारी गरिएको थियो । तर, घण्टी हटाउँदा ऐतिहासिक महत्त्वका पुराना घण्टीसमेत नष्ट हुने अवस्था आएपछि तिनलाई संरक्षण गर्ने विकल्पका रूपमा महाघण्टी निर्माण गर्ने सोच अघि सारिएको हो”, सचिव घिमिरेले भने। उनका अनुसार यस महाघण्टीमा १९३१ सालभन्दा अघिदेखिका घण्टीसमेत सङ्ग्रहित रहेका छन् ।

घिमिरेले महाघण्टी निर्माणले पुराना घण्टीको संरक्षण हुनुका साथै मन्दिरको सौन्दर्य र पहिचानसमेत थपिएको बताए। सुरुमा घण्टी कसरी व्यवस्थापन गर्ने भन्ने सोचेर काम सुरु गरि।एको भन्दै अहिले यही घण्टी सबैका लागि आकर्षक केन्द्र बनेको तथा मन्दिरको शोभासमेत बढाएको घिमिरेले बताए।

“साना घण्टीलाई एउटै संरचनामा जोडेर बनाइएको महाघण्टी अहिले निसान मन्दिरको छुट्टै पहिचान बनेको छ । धार्मिक तथा ऐतिहासिक महत्वबोकेको मन्दिरमा आउने आगन्तुकका लागि यो घण्टी फोटो खिच्ने आकर्षक गन्तव्यसमेत बनेको छ”, उनले भने।

धनकुटाको निसान मन्दिरको इतिहास पूर्व नेपालको प्रशासनिक तथा सैनिक इतिहाससँग जोडिएको छ । विसं १८४१ मा पूर्वको प्रशासनिक कार्यका लागि प्रसादसिंह बस्नेत धनकुटा आएका बेला जङ्गी निसानको स्थापना भएको इतिहास रहेको बताइन्छ । मन्दिरमा अहिले पनि नेपाली सेनाले दैनिक पूजाआजा गर्दै आएको छ ।

मन्दिरमा नेपाली सेनाकै एक पुजारी रहने व्यवस्था गरिएको छ । धार्मिक आस्थासँगै ऐतिहासिक महत्व बोकेको निसान मन्दिर परिसरमा बनेको महाघण्टीले पुराना घण्टीको संरक्षण मात्र गरेको छैन, मन्दिरको सौन्दर्य र पर्यटकीय आकर्षणसमेत बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *