वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन (क्यासिनो) मा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा आठ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चार जना जुवा खेल्ने र चार जना जुवा खेलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव र ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा तथा स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेल छन्। पौडेल नेपाल प्रहरीका प्रहरी निरीक्षक हुन् ।
त्यस्तै, नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाएको आरोपमा क्यासिनोका कर्मचारी वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ घर भई क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह पक्राउ परेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
