काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले सुरुङमा फसेकाको उद्धार अभियान मानवीय हिसाबले आंशिक सफल भए पनि इन्जिनियरिङ दृष्टिले ठूलो सफलता हासिल भएको बताएका छन् ।
सामाजिक संजालमार्फत सांसद ढकालले उद्धारमा नेपाली जनशक्तिको महत्वपूर्ण भूमिका रहेको दाबी गर्दै विशुद्ध नेपालीको बलमा देशले ठूलो सफलता प्राप्त गरेको बताएका हुन् ।
उनले उद्धारस्थलमा सबै पक्षबीच सहयोग र सहकार्य भएपनि सञ्चारमाध्यममा फैलिएको नकारात्मकताले काममा केही हदसम्म अवरोध सिर्जना गरेको बताए ।
उनले भनेका छन्, ‘फिल्डमा सबैको सहयोग थियो, सहकार्य थियो। तर मिडियामा यति नकारात्मकता फैलाइयो कि काम गर्न केही हदसम्म डिस्टर्ब भयो। सिनियर पार्टी लिडर पनि मिडियाकै लहैलहैमा लाग्नुपर्यो ।’
उनले उद्धार कार्यमा थप २४ घण्टा ढिलाइ भएको भए अवस्था गम्भीर बन्न सक्ने बताए । उनले भने, ‘अझै २४ घण्टा ढिलो भएको भए असफल पनि हुन सक्थ्यौँ। भगवानले अन्तिममा पुकार सुन्नुभयो, जोगाउनुभयो ।’
उनले विपद्को समयमा फिल्डमा खटिएका उद्धारकर्मीको मनोबल कमजोर बनाउने गरी आलोचना नगर्न आग्रह गरेका छन्।
उनले भने, ‘देश साच्चै बनाउन मन छ भने सकिन्छ। सकारात्मक सोचौँ। सकिँदैन भने फिल्डमा रातदिन खटिँदा घरभित्र बसेर मजाक कसैको पनि नगरौँ ।’ ढकालले सुरुङ उद्धार अभियानमा एक सातादेखि बाढी प्रभावित क्षेत्रमा छन् ।
