काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का पछिल्लो समय क्यामेरा र लाइटको घेरासँगै प्रकृतिको संरक्षणमा सशक्त आवाज उठाइरहेका छन् ।
कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवका ‘जलवायु सद्भावना दूत’का रूपमा उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालका हिमाल, वातावरण र जलवायु न्यायको एजेन्डालाई गम्भीरताका साथ प्रस्तुत गर्दै आएका छन् ।
हालै मात्र रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले नेपाल जलवायु परिवर्तनको कति ठूलो जोखिममा छ भन्ने यथार्थलाई पुनः पुष्टि गरेको छ । विगत तीन वर्षदेखि सम्भावित प्राकृतिक विपत्तिको चेतावनी दिँदै आउनुभएका अभिनेता खड्का, हिमाल पग्लिएर काला पत्थरमा परिणत हुँदा देशको समग्र पर्यटन र चलचित्र क्षेत्रको ‘खुला स्टुडियो’ नै मासिने चिन्ता व्यक्त गर्छन् । विकसित राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालले भोग्नुपरेको यस अकल्पनीय क्षतिको क्षतिपूर्ति स्वरूप ‘लस एन्ड ड्यामेज फन्ड’मा नेपालको सहज पहुँच हुनुपर्ने उनको मुख्य अडान छ ।
प्रस्तुत छ, विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी, जलवायु न्याय र एक कलाकारको सामाजिक उत्तरदायित्वका विषयमा केन्द्रित रहेर अभिनेता तथा जलवायु अभियन्ता प्रदीप खड्कासँग राससका समाचारदाता जीवन पराजुलीले गरेको कुराकानी ः
–यहाँ नेपाली चलचित्र क्षेत्रको एउटा स्थापित र व्यस्त अभिनेता हुनुहुन्छ । एकाएक जलवायु परिवर्तनको मुद्दामा केन्द्रित हुनुको पछाडिको कारण के हो ?
म मूलतः एउटा कलाकार हुँ र मेरो कर्मथलो यही देशको प्रकृति हो । नेपाललाई विश्वमा ‘चलचित्र पर्यटन’को एउटा प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने मेरो ठूलो सपना छ । तर, जब मैले हाम्रा सेता हिमालहरू पग्लिएर काला पत्थरमा परिणत हुँदै गएको देखेँ, मलाई धक्का लाग्यो । हिमाल र प्रकृतिको यो अनुपम सौन्दर्य नै नरहे हाम्रो ‘खुल्ला स्टुडियो’को अवधारणा कसरी बाँच्ला ? प्राकृतिक स्टुडियो नै मासियो भने हामीले विश्वलाई के देखाउने ? यही यथार्थले मलाई क्यामेराको लेन्सबाट बाहिर निस्केर प्रकृतिको संरक्षणका लागि बोल्न बाध्य बनायो । यो मेरो पेसागत भविष्य र देशको अस्तित्व दुवैसँग जोडिएको विषय हो ।
–यहाँले विगत केही वर्षदेखि देश र विदेशमा निरन्तर आवाज उठाइरहनुभएको छ । आम नागरिक र विश्व समुदायले बुझ्ने गरी भनिदिनुस् न, यहाँको मुख्य जलवायु एजेन्डा के हो ?
मेरो मुख्य एजेन्डा ‘संरक्षणकर्तालाई प्रोत्साहन’ हो । अहिले विश्वमा कार्बन व्यापारको अवधारणा छ तर यसको व्यावहारिक पाटोमा ठूलो खाडल छ । यदि जङ्गल मासेर, रूख काटेर मात्र आर्थिक फाइदा हुन्छ भने, रूख रोप्ने र हुर्काउनेहरूका लागि प्रोत्साहन खोइ त ? हामीले अक्सिजन दिएर विश्वलाई बचाइरहेका छौँ । त्यसैले, मेरो अडान स्पष्ट छ–जसले प्रकृति बचाउँछ, उसले त्यसको उचित मूल्याङ्कन र आर्थिक लाभ पाउनुपर्छ । जलवायु न्याय भनेको यही हो ।
–विगत तीन वर्षदेखि यहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालले भोग्नुपर्ने जलवायु सम्भावित विपत्तिको चेतावनी दिँदै आउनुभएको छ । हालै भोटेकोशी र मेलम्चीमा आएको विनाशकारी बाढीलाई यहाँले कसरी हेर्नुभएको छ ?
यो अत्यन्तै हृदय विदारक छ र यसपछि त संसार थप गम्भीर हुन जरुरी छ । यो समस्या नेपाल र हाम्रा हिमालको मात्र होइन, सम्पूर्ण पृथ्वीवासीको साझा सङ्कट हो । हामीले प्रकृतिको पर्या–प्रणाली बिगारेका छौँ । हेर्नुस् त, जुम्लामा बाँदर पुगेर बालीनाली नष्ट गर्न थालेका छन् । आइसल्यान्डजस्तो देश, जहाँ लामखुट्टे हुँदैनथे, त्यहाँ सन् २०२५ तिरबाटै लामखुट्टे भेटिएको छ । तराईमा पाइने गोमन सर्प पहाड उक्लिरहेका छन् । यो सबै ‘ग्लोबल वार्मिङ’को परिणाम भनौँ अथवा उपज हो । हिमालदेखि समुद्रसम्म यसको असर छ । भोटेकोशी त केवल सुरुआती सङ्केत मात्र हो । यसपछि पनि हामीले यस्ता सङ्कटहरु अरु खेप्नुपर्ने अवस्था आउने छ ।
–सरकारलाई यहाँले ‘जुनसुकै बेला विपत्ति आउन सक्छ, पूर्व तयारीमा रहनू’ भनेर पटक–पटक झक्झक्याउनुभयो । तर घटना घटिसकेपछि मात्र ब्युँझिने फितलो पूर्वतयारी र नीतिगत उदासीनतामाथि यहाँको टिप्पणी के छ ?
यो निकै निराशाजनक छ । विपद् व्यवस्थापन भनेको हेलिकोप्टर लगेर चाउचाउ बाँड्नु मात्र होइन । यो त घटना हुनुपूर्वको तयारी हो । हामीसँग पूर्व सूचना प्रणाली अझै प्रभावकारी छैन । पहाडमा डोजर आतङ्क छ, बिना कुनै इन्जिनियरिङ सडक खनिएका छन् । सरकारले विकासको ढाँचालाई नै जलवायु अनुकूल बनाउनुपर्छ । नीति निर्माण तहमा बस्नेहरूले प्रकृतिको सङ्केतलाई बेवास्ता गरिरहने हो भने हामीले भविष्यमा अझै ठूलो मानवीय र आर्थिक क्षति बेहोर्नुपर्ने निश्चित छ ।
–विश्वका धनी र औद्योगिक राष्ट्रहरूका कारण नेपाल जस्ता कम कार्बन उत्सर्जन गर्ने देशहरूले ठूलो मूल्य चुकाउनुपरेको छ । धनी राष्ट्रहरूबाट जलवायु क्षतिपूर्ति प्राप्त गर्नका लागि अबको अन्तरराष्ट्रिय लबिङ कस्तो हुनुपर्छजस्तो लाग्छ ?
नेपालको कार्बन उत्सर्जन शून्य दशमलव एक प्रतिशतभन्दा पनि कम छ, तर हामी विश्वको चौथो सबैभन्दा जोखिमपूर्ण देशमा पर्छौं । अब हाम्रो अन्तरराष्ट्रिय लबिङ ‘अनुदान वा सहयोग माग्ने’ शैलीमा होइन, ‘हाम्रो अधिकार र क्षतिपूर्ति दाबी गर्ने’ शैलीमा हुनुपर्छ । हामीले हाम्रा हिमाल र जङ्गलमार्फत विश्वलाई अक्सिजन दिएर गुन लगाएका छौँ । ‘लस एन्ड ड्यामेज फन्ड’मा हाम्रो सहज र सिधा पहुँच हुनुपर्छ । यसका लागि सरकार, कूटनीतिक नियोग र अन्तरराष्ट्रिय मञ्चहरूमा हाम्रो सञ्चार संयन्त्र अत्यन्तै आक्रामक र प्रमाणमा आधारित हुनु आवश्यक छ । विदेशीहरू सहानुभूति मात्र दिन्छन्, तर हामीलाई अहिले सहानुभूति होइन, ‘एक्सन’ चाहिएको छ ।
–धेरैजसो कलाकारहरू सामाजिक वा राजनीतिक मुद्दाहरूमा बोल्न हिचकिचाउँछन् । एउटा ‘ग्लामरस स्टारडम’ र गम्भीर जलवायु अभियन्ताको भूमिकाबीच यहाँले कसरी सन्तुलन मिलाइरहनुभएको छ ?
विभेद गलत हो भनेर विभेद सहनेले जतिसुकै चिच्याए पनि, जबसम्म विभेद गर्ने पक्ष सजग हुँदैन, तबसम्म समाधान निस्किँदैन । जलवायु परिवर्तनको हकमा नेपाल एउटा निर्दोष पीडित हो । चलचित्र र कला यस्तो सशक्त माध्यम हो जसले यो यथार्थलाई भावनात्मक रूपमा पु¥याउन सक्छ । ‘ग्लामरस स्टारडम’ र गम्भीर अभियन्ता हुनु परस्पर विरोधी कुरा होइनन्, बरु एक–अर्काका परिपूरक हुन् । स्टारडमले मलाई एउटा ‘माइक्रोफोन’ दिएको छ, र जलवायु सङ्कटले मलाई त्यो माइक्रोफोनमा बोल्ने ‘कन्टेन्ट’ । मैले पाइरहेको मिडियाको ध्यान मेरो व्यक्तिगत सम्पत्ति मात्र होइन, यो राष्ट्र हितमा सदुपयोग हुनुपर्छ । यो सन्तुलन मात्र होइन, दायित्वको पूर्ण सदुपयोग हो ।
–नेपालका हिमशृङ्खलाहरू पग्लने क्रम तीव्र छ, जसले तल्लोतटीय क्षेत्रमा ठूलो जोखिम बढाएको छ । हाम्रा हिमालहरू बचाउन तत्काल चाल्नुपर्ने कदमहरू के–के देख्नुहुन्छ ?
सबैभन्दा पहिलो कदम भनेको जोखिममा रहेका हिमतालहरूको म्यापिङ र निरन्तर अनुगमन हो । तल्लोतटीय क्षेत्रका बस्तीहरूमा साइरन जडित पूर्वसूचना प्रणालीलाई चुस्त बनाउनुपर्छ । दीर्घकालीन रूपमा भने हामीले जीवाश्म इन्धनको प्रयोग घटाएर जलविद्युत् र विद्युतीय सवारीको प्रयोग बढाउनै पर्छ । अन्तरराष्ट्रिय मञ्चहरूमा हिमाल पग्लिँदा एसियाका अर्बौं मानिसको पानीको स्रोत सुक्छ भन्ने भाष्यलाई गम्भीरताका साथ स्थापित गर्नुपर्छ ।
–भविष्यमा आउने सङ्कटको सबैभन्दा ठूलो मार आजको युवापुस्ताले भोग्नुपर्नेछ । युवाहरूलाई सामाजिक सञ्जालमा मात्र सीमित नराखी यस अभियानमा व्यवहारिक रूपमै कसरी जोड्न सकिन्छ ?
युवा पुस्ता निकै सचेत छ । अब संयुक्त राष्ट्रसङ्घको वार्षिक जलवायु परिवर्तन सम्मेलन ‘कोप’ जस्ता अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालले आफ्ना समस्या र समाधानका विषयमा सशक्त रूपमा बोल्न सक्नुपर्छ र म त्यहाँ सहभागी हुन सधैँ तत्पर छु । सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ चलाएर मात्र पुग्दैन, आफ्नो दैनिक जीवनशैलीमा वातावरणमैत्री छनोटहरू गर्न युवा पुस्ता अग्रसर हुनै पर्छ । उहाँहरूले व्यक्तिगत रूपमा कार्बन उत्सर्जन नियन्त्रण गर्ने र नेपालको जलविद्युतको अधिकतम् सदुपयोग गर्ने कुरामा ध्यान दिनुपर्छ ।
–अन्त्यमा, पटक–पटकको चेतावनीका बाबजुद सङ्कट झन बढ्दै जाँदा कत्तिको निरासा छाउँछ ? आगामी दिनमा यहाँका योजनाहरू के–के छन् ?
निराशा पक्कै हुन्छ, तर हरेस खाने छुट हामीलाई छैन । एक अभिनेताको रूपमा मेरो योजना भनेको चलचित्रको माध्यमबाट जलवायु सङ्कटका कथाहरूलाई विश्व मञ्चमा पु¥याउने हो । सद्भावनादूतको रूपमा म नेपालका सरोकारवाला निकायहरूसँग मिलेर नीतिगत परिवर्तन र युवा परिचालनमा काम गरिरहनेछु । हाम्रो प्रकृति बचाउने लडाइँ लामो छ, तर जब म युवाहरूको ऊर्जा देख्छु, मलाई विश्वास लाग्छ, हामी यो सङ्कटलाई चिरेर एउटा सुरक्षित भविष्य निर्माण गर्न सफल हुनेछौँ ।
