काठमाडौँ । रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ । बाढीपछि सम्पर्कविहीन भएका चार हजार ७९८ जना अझै बेपत्ता छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेको शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुषको रहेको छ । आंशिक अङ्गसहितका ५३२ जना शव फेला परेको प्रहरीले जनाएको छ । उपचारका क्रममा अस्पतालमा दुई जना मृत्यु भएकोे थियो ।
त्यस्तै, बाढीमा परी अझै चार हजार ७९८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बेपत्ता हुनेमा पुरुष दुई हजार ३६९ र महिला ४७८ जना छन् ।
बाढी प्रभावित विभिन्न स्थानबाट फेला परेका शवको पहिचान तथा व्यवस्थापनको कामलाई प्रहरीले निरन्तरता दिएको छ । ठूलो क्षेत्र प्रभावित भएकाले सम्भावित स्थानमा खोजी गर्दै फेला परेका शवको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ ।
आठ हजार १९७ जनाको उद्धार
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म आठ हजार १९७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये पुरुष चार हजार ६१८, महिला दुई हजार ४७२ छन् ।
त्यस्तै, विदेशी नागरिक पुरुष ९०३ र महिला १५२ जनाको पनि उद्धार गरिएको छ । त्यसमध्ये पहिचान नखुलेका ५२ जनाकोसमेत उद्धार गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
सुरक्षा निकायबाट खोजी अभियान जारी
बाढीपछि ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन रहेकाले सुरक्षा निकायले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा अन्य सरोकारवाला निकायको समन्वयमा बाढी प्रभावित क्षेत्रमा सम्भावित स्थान पहिचान गरी खोजी भइरहेको छ ।
प्रहरीका अनुसार मृतक एक हजार १४३ जना तथा मृतकका आफन्त ७१९ जनासमेत गरी एक हजार ८६२ जनाको डिएनए नमुना सङ्कलन गरिएको छ । बेपत्ता तथा फेला परेका शवको पहिचानमा सहजता ल्याउन डिएनए परीक्षणको प्रक्रिया अघि बढाइएको हो ।
९२६ शवको व्यवस्थापन
प्रहरीले हालसम्म ९२६ जनाको शव सुरक्षित रूपमा जमिनमा व्यवस्थापन गरिएको जनाएको छ । शवको आवश्यक प्रक्रिया पूरागरी व्यवस्थापन गर्ने कार्य जारी रहेको जनाइएको छ ।
प्रहरीले सम्भावित सबै स्थानमा खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । प्राप्त सूचना तथा परिवारजनबाट आउने विवरणका आधारमा बेपत्ताको तथ्याङ्कसमेत अद्यावधिक गर्ने काम भइरहेको छ ।
भोटेकोशी बाढीपछि उद्धार, खोजी, शव व्यवस्थापन र बेपत्ताको पहिचानका लागि राज्यका विभिन्न निकाय परिचालन भइरहेका छन् ।
लामो समयदेखि सम्पर्कविहीन रहेका व्यक्तिको अवस्थाबारे जानकारी प्राप्त गर्न सुरक्षा निकायले खोजी अभियानलाई थप प्रभावकारी तुल्याउँदै लगेको जनाएको छ ।
