चीनको थप विपद् सहायता: डीएनए विज्ञसहित उद्धार सामग्री नेपाल आउने

काठमाडौं । चीनले बाढी तथा विपद्बाट प्रभावित नेपालका क्षेत्रमा थप आपत्कालीन राहत सामग्री पठाउने भएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता काे च्याखुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा चीनले नेपाललाई प्रदान गर्ने दोस्रो चरणको राहत सामग्री आजै पठाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

चिनियाँ केन्द्रीय टेलिभिजनका पत्रकारले नेपालमा चीनले उपलब्ध गराएको पहिलो चरणको विपद् सहायता र आगामी सहयोगबारे प्रश्न गरेका थिए ।

जवाफमा प्रवक्ता गुओले नेपालका प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनु तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्नु चीनको महत्वपूर्ण राजनीतिक निर्णय भएको बताए । यसले नेपालप्रति चीनको मैत्रीपूर्ण भावना प्रतिबिम्बित गर्ने उनको भनाइ थियो ।

चीनबाट नेपालका लागि पठाइने दोस्रो चरणको राहत सामग्रीमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा परीक्षण सामग्री, खानेपानी शुद्धीकरण उपकरण, प्रकाश तथा विद्युत् उपकरण लगायत नेपाललाई तत्काल आवश्यक सामग्री समावेश छन् ।

यसैगरी, चिनियाँ डीएनए पहिचान तथा परीक्षण विज्ञहरू पनि नेपाली पक्षलाई सहयोग गर्न विपद् प्रभावित क्षेत्रमै पुग्ने प्रवक्ता गुओले जानकारी दिए ।

“चीन नेपालसँग दृढतापूर्वक उभिनेछ र कठिन समय पार गर्न नेपालसँगै मिलेर काम गर्नेछ,” गुओले भने । वास्तविक सहयोगमार्फत चीन र नेपालबीचको परम्परागत छिमेकी मित्रतालाई थप मजबुत बनाउने चीनको प्रतिबद्धता रहेको उनले बताए ।

चीनले यसअघि पनि नेपालमा प्राकृतिक विपद्का बेला उद्धार तथा राहत सामग्री उपलब्ध गराउँदै आएको छ । पछिल्लो सहयोगले सीमा क्षेत्रमा विपद् व्यवस्थापन, उद्धार तथा मानवीय सहकार्यमा नेपाल–चीन सम्बन्धको निरन्तरतालाई थप बल दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *