काठमाडौं । स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई प्राथमिकतामा राख्दै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको मंगलबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका छन् ।
दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता रहेको छ। ती ब्रान्डले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
नाडाले आफ्नो ५० औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको यसपटकको प्रदर्शनीमा विदेशी ब्रान्डका सवारी मात्र नभई नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारी तथा अटोमोबाइल सामग्रीलाई छुट्टै प्राथमिकता दिइएको छ । प्रदर्शनीस्थलमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ प्याभिलियन राखिएको छ ।
उद्घाटन समारोहलार्ई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र बन्न सक्ने बताए ।
उनले अटोमोबाइल क्षेत्रको विकासका लागि नयाँ प्रविधि, विद्युतीय सवारी साधन, अटो पाट्र्सलगायतका सेवाहरूलाई एउटै छातामुनि प्रस्तुत गर्दै उपभोक्तासम्म पुर्याउने नाडाको प्रयास सकारात्मक रहेको बताए । मेला १४ भदौसम्म सञ्चालन हुनेछ ।






