काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग सम्बन्ध बिग्रिएको र मनमुटाव रहेको भन्ने चर्चा निराधार भएको बताएका छन् ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठकपछि पत्रकाकरहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले आफू र महासचिव पोखरेलबीच असमझदारी बढेको तथा संवादसमेत टुटेको भन्ने हल्लामा सत्यता नरहेको दाबी गरेका हुन्। उनले भने, ‘बिल्कुलै सत्यता छैन। उहाँले फोनसमेत उठाउनुभएन भन्ने कुरा पनि सुनियो। तर यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन। उहाँसँग मेरो कुनै मनमुटाव छैन ।’
अध्यक्ष ओली र महासचिव पोखरेलबीच सम्बन्ध चिसिएको तथा महासचिव पोखरेलले अध्यक्षको फोनसमेत नउठाएको भन्ने चर्चा चलिरहेको थियो।
