सिंगापुरमा छैटौँ नेपाल फुटसल कप सम्पन्न, पुरुषतर्फ सुरोदय एफसी र महिलातर्फ ब्लु फ्युरी विजेता

सिंगापुर । नेपाली समाज सिंगापुर को आयोजनामा शनिबार सिंगापुर खाल्सा एसोसिएसनमा ‘नेपाल फुटसल कप सिंगापुर २०२६’ सम्पन्न भएको छ । छैटौँ संस्करणको प्रतियोगितामा सिंगापुरमा बसोबास गर्ने नेपाली समुदायसँगै म्यानमार र उत्तरपूर्वी भारतका नेपालीभाषी समुदायको समेत सहभागिता रहेको थियो ।

एकदिने प्रतियोगितामा ११ टोलीका करिब ८० खेलाडीले पुरुष, महिला र बालबालिकातर्फ प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा १ सय ५० भन्दा बढी समुदायका सदस्यहरूको सहभागिता रहेको आयोजकले जनाएको हो । प्रतियोगिताले खेलकुदसँगै नेपाली संस्कृति, सामुदायिक एकता र आपसी सम्बन्धलाई समेत जोड्ने अवसर प्रदान गरेको थियो ।

पुरुषतर्फ सुरोदय एफसीले उपाधि जित्दा गुरखाली रेन्जर्स एफसी उपविजेता बनेको थियो । यस्तै, महिलातर्फ ब्लु फ्युरी एफसी विजेता बनेको थियो ।

प्रतियोगिताको औपचारिक उद्घाटन नेपालका लागि सिंगापुरस्थित अवैतानिक महावाणिज्यदूत हेलेन कम्पोस्, नेपाली समाज सिंगापुरका संस्थापक अध्यक्ष अमर चित्रकार तथा समुदायका वरिष्ठ सदस्य रिद्धी कर्माचार्यले संयुक्त रूपमा गरेका थिए ।

प्रतियोगिता नेपाली समाज सिंगापुरको कार्यक्रम आयोजना उपसमितिले समाजका अध्यक्ष इन्द्र गुरुङको नेतृत्व तथा कार्यक्रम निर्देशक विपिन ब. खत्रीको निर्देशनमा आयोजना गरेको हो । प्रतियोगिता सफल बनाउन समितिका सदस्यहरू सैलेश विक्रम थापा, रोबर्ट विश्वकर्मा, बत्सल कुमार नेम्कूल, घनश्याम अर्याल र सुनिल शर्मा लगायत स्वयंसेवकहरूले योगदान गरेका थिए ।

कार्यक्रम निर्देशक खत्रीले नेपाल फुटसल कपको सफलता नेपाली समुदायको एकता र उत्साहको प्रतिबिम्ब भएको बताए । उनले प्रतियोगितामा सहभागी खेलाडी, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै मुख्य प्रायोजक ‘ओसन सेफ्टी सप्लाइज’लाई विशेष धन्यवाद दिए ।

समाजका अध्यक्ष इन्द्र गुरुङले नेपाल फुटसल कप सिंगापुरको नेपाली समुदायका लागि हरेक वर्ष सहभागी हुनैपर्ने महत्वपूर्ण सामुदायिक कार्यक्रमका रूपमा विकसित हुँदै गएको बताए । उनले आगामी संस्करणलाई अझ ठूलो, उत्कृष्ट र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

फुटसल प्रतियोगिताबाहेक कार्यक्रममा मौलिक नेपाली परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि समेत आयोजना गरिएको थियो । खेलाडी, स्वयंसेवक तथा समुदायका सहयोगीहरूलाई सम्मान गर्दै पुरस्कार वितरण समारोहसमेत गरिएको थियो ।

नेपाल फुटसल कप सिंगापुरले सिंगापुरमा बसोबास गर्ने नेपालीभाषी समुदायबीच सामुदायिक एकता, युवा सहभागिता र सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा भूमिका निर्वाह गर्दै आएको आयोजकले जनाएको छ ।

नेपाली समाज सिंगापुरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, स्वयंसेवक, अतिथि, खेलाडी तथा सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै आगामी सातौँ संस्करणमा पनि समुदायका सबै सदस्यलाई सहभागी हुन आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *