न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

काठमाडाैँ। न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र स्न्यापच्याटजस्ता सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन अघि बढाएको छ। सरकारले सामाजिक सञ्जालका कारण बालबालिकाको मानसिक स्वास्थ्य, निद्रा, पारिवारिक जीवन र शिक्षामा असर परेको भन्दै कडा उमेर सीमा प्रस्ताव गरेको हो।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकामाथि सामाजिक सञ्जालको बढ्दो प्रभाव स्वीकार गर्न नसकिने बताए। उनका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका तीनमध्ये एक बालबालिकाले दैनिक कम्तीमा पाँच घण्टा सामाजिक सञ्जालमा बिताउने गरेका छन्। सामाजिक सञ्जालले उनीहरूलाई हानिकारक सामग्री, लत लगाउने प्रविधि र मानसिक दबाबको जोखिममा पारिरहेको उनको भनाइ छ।

प्रस्तावित व्यवस्थाअनुसार सामाजिक सञ्जाल कम्पनीले प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा बढी भए–नभएको सुनिश्चित गर्नुपर्नेछ। त्यसका लागि खाता विवरण, अनुहारबाट उमेर अनुमान गर्ने प्रविधि, डिजिटल परिचयपत्र वा औपचारिक परिचयपत्र प्रयोग गर्न सकिनेछ। नियम उल्लङ्घन गर्ने मेटालगायत कम्पनीलाई विश्वव्यापी राजस्वको १० प्रतिशतसम्म जरिवाना हुन सक्नेछ। बालबालिका वा उनीहरूका अभिभावकलाई भने दण्ड नहुने शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले बताए।

तर प्रस्तावित कानूनलाई राजनीतिक चुनौतीसमेत देखिएको छ । सरकारमा सहभागी एक्ट पार्टी र एनजेड फर्स्टले यसको विरोध गरेका छन्। अस्ट्रेलियामा यस्तै व्यवस्था प्रभावकारी नभएको र किशोरकिशोरीले प्रतिबन्ध छल्न सक्ने उनीहरूको तर्क छ। मुख्य विपक्षी लेबर पार्टीले पनि उमेर प्रमाणीकरण कसरी गरिने र कुन प्लेटफर्मलाई प्रतिबन्धमा समेटिने भन्ने विषयमा थप स्पष्टता मागेको छ।

लेबरका प्रवक्ता रुबेन डेभिडसनले अनलाइन वातावरण जटिल बन्दै गएकाले युवाको सुरक्षासम्बन्धी जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

अस्ट्रेलियाले गत डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानून लागू गरेको थियो। बेलायत, फ्रान्सलगायतका देशले पनि यस्तै उपाय अघि बढाएका छन्। यद्यपि, गत जुनमा प्रकाशित एक अध्ययनले अस्ट्रेलियाको प्रतिबन्धपछि किशोरकिशोरी सामाजिक सञ्जालबाट उल्लेख्य रूपमा टाढिएको प्रमाण निकै कम रहेको देखाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *