एजेन्सी । सिजनको पहिलो खेलमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि अल नासरले साउदी प्रो लिगमा फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अल रियादलाई ४-० गोलले हराउँदै अल नासरले लिगमा दोस्रो जित निकालेको हो ।
प्रिन्स फैसाल विन फहद स्टेडियममा भएको खेलमा अल नासरलाई जित दिलाउन अब्दुलेलाह अल अम्री, एन्जेलो, जोए फेलिक्स र क्रिस्टियानो रोनाल्डोले समान एक/एक गोल गरे । खेलको १८ औँ मिनेटमा अल अम्रीले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा एन्जेलोले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए ।
५८ औँ मिनेटमा फेलिक्सले गोल गर्दा अल नासर सहज जिततर्फ अगाडि बढेको थियो । ८३ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रोनाल्डोले गोल गर्दै अल नासरलाई ४-० गोलको फराकिलो जित दिलाएका हुन् ।
जितसँगै अल नासर २ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट अंकविहीन अल रियाद पुछारमा रहेको छ ।
