बिना रिलको क्यामेराबाट हाकिमको फोटो

-श्यामप्रसाद मैनाली

मेरो सेवाकालमा कुनै हाकिम यस्ता पनि भेटिए, जसको कार्यालय चलाउने तरिका आफ्नै मुड र सम्बन्धअनुसार चल्थ्यो । हाकिम साह्रै रमाइलो खालका हुनुहुन्थ्यो । उहाँसँग बस्दा कार्यालयको कामभन्दा गफको स्वाद बढी आउँथ्यो । उहाँले सधैँ मलाई एउटा कृपा गर्ने प्रसङ्ग दोहोर्याइरहनु हुन्थ्यो, तपाईँलाई विदेश पठाइदिन्छु । सुरुमा त मैले सामान्य कुरा ठानेँ । तर एकपटक होइन, दुईपटक होइन, पटक पटक यही कुरा दोहोरिन थाल्यो। बेलुका अलिकति जमघट भयो कि उहाँको कुराकानीको थेगो नै हुन्थ्यो, तपाईँलाई विदेश पठाइदिन्छु । मैले पनि मनमनै सोच्न थालेँ, हाकिमले यति धेरैपटक भनिसके, अब विदेश जाने चस्का लाग्नु पनि स्वाभाविकै रहेछ ।

केही समयपछि विदेश जाने एउटा अवसर आयो। हाकिमले फेरि भन्नुभयो, तपाईंलाई नै पठाउने हो । तर किन हो ? हाकिमको कुरामा मलाई थोरै पनि विश्वास थिएन । कार्यालयबाट मेरो नाम सिफारिस पनि भयो । तर पछि हाकिमको योजना थाहा भयो । कुरा अलि अर्कै रहेछ । हाकिमले मेरो नाममा सिफारिस गराएर मन्त्रालयबाट निर्णयचाहिँ आफ्ना प्रियपात्रको नाममा गराउने योजना बनाउनुभएको रहेछ ।

त्यसपछि मैले फाइल शिक्षा सचिव नरसिंह नारायण सिंहसमक्ष पुग्नु अगाडि नै भेट गरेर यस विषयमा अनुरोध गरें । उहाँले कुरा सुनेपछि अलिकति रिसाएजस्तो गर्दै भन्नुभयो, राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीको नाममा यति हलुका कुरा तपाईंले गर्न मिल्दैन, एउटा व्यक्तिको नाम सिफारिस गरेर अर्कै व्यक्तिलाई पठाउने कुरा प्रथम श्रेणीको अधिकृतबाट हुन सक्दैन । मैले आफूलाई जानकारीमा आएको सबै कुरा सचिवज्यूलाई अनुरोध गरें । सचिवज्यूले भन्नुभयो, यदि तपाईंले भनेजस्तै भएको हो भने तपाईंलाई विदेश पठाइदिन्छु, नभए तपाईँ उपर कारबाही पनि हुन सक्छ ।

अब म के गरूँ ? सरकारी कर्मचारीलाई होइन भन्ने विकल्प कहाँ हुन्छ र ! मैले हुन्छ भनेँ । हाकिमले पनि सचिवज्यूलाई मैले भनेअनुसार नै आफ्नो शैलीमा बुझाउनुभएछ । अन्ततः सचिवज्यूले एउटा अद्भूत समाधान निकाल्नु भएछ मलाई पनि पठाउनु भएन हाकिमले सिफारिस गरेको मान्छेलाई पनि पठाउनुभएन । तेस्रो व्यक्ति ल्याबोरेटरी माध्यमिक विद्यालयका प्रधानाध्यापक विनय गुरुङलाई मनोनयन गरेर पठाइदिनु भएछ । हाकिम आएर तपाईँलाई पठाइदिउँ भनेको सचिवले आफ्नै मान्छे पठाउनुभयो भनेर अर्को झुटकुरा गर्नुभयो । म त छक्क !

तर कथा त्यत्तिमै सकिएन । तीनचार दिनपछि सचिवज्यूले मलाई पनि सिङ्गापुरको एउटा वर्कशपमा भाग लिन मनोनयन गरिदिनुभयो। अब चाहिँ विदेश साँच्चिकै जाने भइयो ! विनयजी भन्दा पहिला म विदेश गएँ । सिङ्गापुर गएँ, वर्कशपमा भाग लिएर फर्किएँ । फर्किँदा एउटा राम्रो जापानी क्यामेरा पनि किनेर ल्याएँ । क्यामेरा देखेपछि हाकिमको आँखामा छुट्टै चमक देखियो । उहाँले भन्न थाल्नुभयो, मेरो पनि एउटा राम्रो फोटो खिचिदिनुस् न मैले हुन्छ भनेँ । अर्को दिन फेरि भन्नुभयो फोटो खिचेर सफा गरेर राम्रो फोटो ल्याइदिनुस् है । फेरि हुन्छ भन्नै पर्यो । तेस्रो पटक पनि त्यही कुरा । अब मलाई लाग्यो, हाकिम साहेबले मलाई विदेश पठाउने भनेर जति पटक आश्वासन दिनुभयो त्यसको हिसाबकिताब मिलाउने समय आएछ ।

मैले केही मिल्ने अधिकृत साथीहरू (प्रकाशबहादुर केसी केदारचन्द्र खनाल)सँग सल्लाह गरेँ। सबैले हाँस्दै भने,
अब यही मौका हो । क्यामरा लिएर हाकिमको अगाडि पुगेँ । उहाँलाई एउटा होइन, दुईवटा होइन, विभिन्न पोजमा फोटो खिच्न थालें । हाकिम पनि खुसी हुँदै कहिले यता फर्कनुहुन्थ्यो, कहिले उता । मानौँ कुनै अन्तर्राष्ट्रिय पत्रिकाको कभर फोटो खिचिँदैछ । मैले भने, हजुर अलि मुस्कुराउनुस् । उहाँ मुस्कुराउनुभयो । अब अलि गम्भीर हुनुस् । उहाँ गम्भीर हुनुभयो । अब यता हेर्नुहोला । उहाँले यता हेर्नुभयो । यसरी तीनचार जना अधिकृतलाई साक्षी राखेर हाकिमको विभिन्न पोजमा फोटो खिचियो । तर एउटा सानो रहस्य थियो, क्यामरामा रिल नै थिएन । फोटो खिचेर म चुप लागेँ। हाकिम भने खुसी । केही दिनपछि सोध्नुभयो, फोटो आएन ? मैले भनेँ,आउँछ हजुर । फेरि केही दिनपछि फोटो खोई ? मैले फेरि टारिदिएँ । तर हाकिमले हार मान्ने कुरै थिएन । पटकपटक सोध्न थालेपछि अन्ततः मैले पनि सत्य बोल्ने निर्णय गरेँ । मैले नम्र भएर भनेँ
हाकिम साहब तपाईँले मलाई विदेश पठाइदिन्छु भनेर जति पटक भन्दै जानुभयो त्यसै गरेर मैले पनि तपाईंको फोटो खिचिदिएको हुँ । हाकिमले कुरा बुझ्नुभयो । अर्थात् फोटो खिचेको थियो तर फोटो हुने रिल नै थिएन ।

त्यसपछि हाकिम मसँग साह्रै रिसाउनुभयो । म पनि मनमनै सोच्थेँ । हाकिमले विदेशको फोटो देखाएर मलाई धेरैपटक घुमाउनुभयो । मैले पनि क्यामेराको फोटो देखाएर एकपटक घुमाए हामी दुईका बीचको हिसाब बराबर । त्यो घटनापछि मैले सोच्न थाले,विदेश जाने कुरा मनोनयनको निर्णय नआएसम्म केवल सपना हो र फोटो खिचेको कुरा रिल वा डिजिटल मेमोरीमा नआएसम्म केवल पोज हो । त्यस दिनदेखि हाकिमले मलाई ब्लफ दिएर कुरा गर्न छोड्नुभयो । तर मसँग एउटा अमूल्य सम्झना भने रह्यो । बिना रिलको क्यामराबाट खिचिएको आफ्नै हाकिमको फोटो ! फोटो आजसम्म छैन। तर त्यो फोटो खिच्दाको हाँसो र हाकिमको रिस भने अझै मनमा सुरक्षित छ । मेरो यस्तै यस्तै खालको विद्रोही प्रकृतिको स्वभाव भएकाले कसरी लामो समयसम्म निजामती सेवामा टिकेर सफलतापूर्वक अवकाश प्राप्त गरें ? पछाडि फर्किएर हेर्दा आश्चर्यमा पर्छु।

(शिक्षा सेवाका पुराना साथीहरूले सायद हाकिम साहबको परिचय पाइसक्नुभयो होला। तर मलाई उहाँको नाम बताइदिने इच्छा हुँदाहुँदै पनि सहज लागेन किनकी उहाँ अनन्त यात्रामा समाहित भइसक्नुभएको छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *