एसियाली खेलकुद : नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक बन्ने उच्च सम्भावना, नतिजा के हुन्छ ?

काठमाडौं । २० औँ एसियाली खेलकुद अन्तर्गत भोलि(मंगलबार) बिहान हुने क्रिकेटतर्फको नेपाल र श्रीलंकाबीच हुने क्वाटरफाइनल खेल वर्षाले प्रभावित हुने उच्च सम्भावना रहेको छ । कोरोगी स्पोर्ट्स पार्कमा भोलि बिहान ५:४५ बजे शुरु हुने खेलमा वर्षा बाधक बन्ने प्रबल सम्भावना देखिएको छ ।

उक्त समयमा वर्षा हुने ५५-६०% मौसम पूर्वानुमान रहेको छ । आज हुने भनिएको दुवै क्वाटरफाइनल खेलपनि वर्षाको कारण रद्द भएको थियो । प्रतियोगिताको पछिल्लो चार खेल मध्ये तीन खेल वर्षाको कारण रद्द हुँदा नेपाल र जापानबीचको खेल १५ ओभरसम्म खेलाइएको थियो ।

वर्षा भए नतिजा के हुन्छ ?
यदि नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा भएको खण्डमा श्रीलंकालाई फाइदा हुनेछ । वर्षा भएर खेल हुन नसकेको खण्डमा श्रीलंका उत्कृष्ट वरीयताको आधारमा सेमिफाइनल पुग्नेछ । टी-२० वरीयतामा श्रीलंका नवौं र नेपाल १४ औँ स्थानमा रहेको छ । आज अफगानिस्तान र भारत तथा हङकङ र पाकिस्तानबीचको खेलपनि वर्षाको कारण रद्द भएपछि भारत र पाकिस्तान उत्कृष्ट वरीयताको आधारमा अन्तिम चारमा पुगेका हुन् ।

यसअघि भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानविरुद्ध अंक बाढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *