नेपालगञ्ज । लागुऔषध नियन्त्रण ब्यूरोले बाँकेको कोहलपुरबाट १४ किलो ७६० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार लागुऔषध बिक्री–वितरण गर्ने गिरोहको निगरानीका क्रममा नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो ।
अफिम चोपको कारोबार भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुवै जना भाग्न खोजेका थिए । उनीहरूलाई रोक्न चेतावनीस्वरूप प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो ।
पक्राउ पर्नेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ गिरी रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १४ किलो ७६० ग्राम अफिम चोप र दुई थान मोबाइल बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
