काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीमा प्रहरीले अनावश्यक अत्यधिक बल प्रयोग गरेको बताएका छन् ।
सुनसरीको देवानगञ्ज र हरिनगर गाउँपालिकामा भएको घटनामा प्रहरीले अनावश्यक बल प्रयोग गरेको बताएका हुन् । घटनास्थलमा पुगेका सांसद थापाले आफूलाई सुरक्षाकर्मीले सुरुमा कुनै समस्या नभएको बताएपनि पछि ताकीताकी गोली हानिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले सर्वसाधारणलाई मार्ने उद्देश्यले नै गोली हानिएको बताए । उनले यहाँका प्रहरी निरीक्षककाबारेमा आफूलाई पहिलादेखि नै शंका लागेको बताएका छन् ।
प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै सुरक्षाकर्मीतर्फ पनि घाइते भएका छन् ।
