बोर्डोतर्फ डढेलो फैलिँदै, म्याक्रोनद्वारा आपतकालीन बैठक आह्वान

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले दक्षिणपश्चिमी सहर बोर्डोतर्फ तीव्र गतिमा फैलिरहेको डढेलोका कारण सोमबार आपतकालीन मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बोर्डोबाट करिब १५ किलोमिटर दूरीमा पुगेको डढेलो नियन्त्रणमा अर्को गर्मीको लहरले थप चुनौती सिर्जना गर्ने बोर्डोका मेयर थोमस काजेनाभले बताएका छन् । उनले हालसम्म करिब ८ लाख ५० हजार जनसंख्या रहेको बोर्डो सहर खाली गराउने कुनै योजना नरहेको स्पष्ट पारे।

पछिल्लो एक सातादेखि फ्रान्स र स्पेनसहित युरोपका विभिन्न क्षेत्रमा फैलिएको डढेलोका कारण दुवै देशबाट ३ लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

राष्ट्रपति म्याक्रोनले शनिबार प्रभावित क्षेत्रको पुनर्निर्माण गरिने र आवश्यक परेसम्म सरकारले साथ दिने प्रतिबद्धता जनाएका थिए।

बोर्डो आसपासका क्षेत्रबाट पहिले नै दशौँ हजार मानिसलाई स्थानान्तरण गरिएको छ। फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजले अवस्था अझै पनि ‘अत्यन्त प्रतिकूल’ रहेको र डढेलो अनियमित रूपमा बोर्डोतर्फ अघि बढिरहेको बताएका छन्।

मौसम विभागले मंगलबारदेखि फ्रान्सका केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिएको छ, जसले आगो नियन्त्रण अभियानलाई थप कठिन बनाउने अनुमान गरिएको छ।

गिरोन्द क्षेत्रमा फैलिएको मुख्य डढेलोले आफ्नै हावा र चट्याङबाट सञ्चालित विशाल आगो–मेघ (पाइरोक्युमुलोनिम्बस) सिर्जना गरेको फ्रान्सको राष्ट्रिय अग्निनियन्त्रक महासंघले जनाएको छ।

महासंघका प्रवक्ता एरिक ब्रोकार्डीले आगोको दिशा निरन्तर परिवर्तन भइरहेकाले प्रत्यक्ष रूपमा नियन्त्रण गर्न कठिन भएको बताए । उनका अनुसार लगातार तीन दिनसम्म भारी वर्षा भएमा वा आगोलाई प्राकृतिक रूपमा निभ्न सक्ने स्थानतर्फ मोड्न सकेमा मात्र अवस्था नियन्त्रणमा आउन सक्छ।

डढेलोका कारण दक्षिणपश्चिम फ्रान्समा मात्रै करिब ४२ हजार हेक्टर वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो वन डढेलोमध्ये एक मानिएको छ। यस वर्षको सुरुदेखि देशभर झण्डै ९८ हजार हेक्टर क्षेत्र डढिसकेको छ भने दक्षिणपश्चिम क्षेत्रबाट मात्रै २ लाख २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

यता स्पेनको पूर्वी तटीय सहर भ्यालेन्सिया नजिकै पनि आइतबार नयाँ डढेलो फैलिएको छ। उक्त क्षेत्रमा करिब १५ हजार मानिस घर छाड्न बाध्य भएका छन्। सरकारी प्रतिनिधि पिलार बेर्नाबेले डढेलो अत्यन्त तीव्र रहेको र आगामी दिनमा मौसम अझ प्रतिकूल हुने चेतावनी दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *