सुनसरीको देवानगञ्जमा दुई समुदायबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बोलबमका लागि हिन्दू धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगन्ज चोकतर्फ जाने क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले विरोध जनाएका थिए ।

विरोध पछि झडपमा परिणत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरी चौकी कप्तानगन्जबाट प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गरेको थियो । तर, त्यसपछि दुवै समुदायका आक्रमणमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको थियो । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले गोली लागेर घाइते भएका देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको जानकारी दिए । झडपमा नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना प्रहरी घाइते भएका छन्। प्रहरी निरीक्षक राईको टाउकोमा ५ टाँका लगाइएको छ ।

अन्य घाइते प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ । सशस्त्र प्रहरीतर्फ पनि ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुई समूहबीचको झडपमा कप्तानगन्ज बजारको घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *