उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा

मस्को । उत्तर कोरियाका विदेशमन्त्री चोई सोन हुईले शनिबार मस्कोको भ्रमण गरेकी छन् । चोईले आफ्ना रूसी समकक्षी सर्गेइ लाभरोभसँग वार्ता गर्ने कार्यक्रम रहेको रूसी विदेशमन्त्रालयले जनाएको छ ।

उत्तर कोरियाली नेता चोई सोन हुई ‘जुलाई १८ मा रुसी सङ्घको औपचारिक भ्रमणका लागि’ मन्त्री लाभरोभको निमन्त्रणामा आएकी हुन् ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि प्योङयाङ र मस्कोबीच सम्बन्ध थप मजबुत बन्दै गएको छ ।

दुई देशबीच सन् २०२४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङ भ्रमण गर्दा रक्षा सम्झौतामा हस्ताक्षर भएको थियो ।

उत्तर कोरियाले युक्रेनमा रुसलाई सहयोग गर्न मिसाइल, गोलीगठ्ठा र हजारौँ सैनिक पठाएको छ । विश्लेषकहरूका अनुसार मस्कोले कूटनीतिक रूपमा अलग–थलग रहेको देशलाई आर्थिक सहायता, सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा उपलब्ध गराइरहेको छ ।

अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उनले रुसलाई युद्ध जित्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
रुसी रक्षा मन्त्री आन्द्रेई बेलौसोभ र अन्य उच्च पदाधिकारीहरू अप्रिलमा प्योङयाङ गएका थिए जसमा सैन्य सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

बेलौसोभले मस्कोले सन् २०२७ देखि सन् २०३१ को अवधिका लागि सहकार्य योजना विस्तार गर्न तयार रहेका बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *