काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले दक्षिणपन्थी शक्तिसँगको राजनीतिक साँठगाँठ रोक्न तथा पार्टीलाई सही कार्यदिशामा अघि बढाउन आग्रह गरेका छन् ।
आइतबार अपील जारी गरी खनालले पार्टीले कुनै नयाँ राजनीतिक समीकरणमा अघि बढ्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाई समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल गर्नुपर्ने माग गरेका हुन् ।
उनले प्रदेश सरकार गठनलगायतका विषयमा क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणलाई आधार बनाएर मात्रै नीति तथा निर्णय गर्नुपर्ने उनले बताएका छन् ।
साथै, उनले केही नेताको पद र सत्ता मोहका कारण हुने राजनीतिक साँठगाँठलाई रोक्दै पार्टी पुनर्गठन, रूपान्तरण र क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढ्न सम्पूर्ण कम्युनिष्ट तथा वामपन्थी शक्तिलाई आह्वान गरेका छन् ।
उनले विगतमा वामपन्थी शक्तिहरूले नीतिविहीन र गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्दै आएको आरोप लगाउँदै त्यसबाट कम्युनिष्ट आन्दोलनको प्रतिष्ठामा क्षति पुगेको दाबी गरेका छन् ।

