रोयटर्स । इरानको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इरानका सैन्य लक्ष्यहरूमा पुनः हवाई हमला गरेको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जोर्डनमा इरानद्वारा गरिएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको तथा अर्का एक सैनिक अझै बेपत्ता रहेको जनाएको छ।
सेन्ट्रल कमाण्डका अनुसार नयाँ आक्रमणको उद्देश्य होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजहरूलाई धम्की दिने इरानको क्षमता कमजोर बनाउनु र जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सलाई जवाफ दिनु हो । आक्रमण गरिएका स्थानबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
इरानको मेहर समाचार एजेन्सीले दक्षिणी इरानको सिरिक आसपास अमेरिकी आक्रमण भएको जनाएको छ । एजेन्सीका अनुसार उक्त आक्रमणबाट कुनै मानवीय वा भौतिक क्षति भएको छैन ।
एक महिनाअघि भएको अन्तरिम युद्धविराम सम्झौता गत साता भंग भएपछि अमेरिका र इरानबीचको सैन्य तनाव पुनः चुलिएको छ। यसले दुवै देशबीच पूर्ण युद्ध पुनः सुरु हुन सक्ने आशंका बढाएको छ ।
सेन्ट्रल कमाण्डका अनुसार हालसम्म युद्ध सुरु भएयता १६ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ भने ४२० भन्दा बढी घाइते भएका छन्।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै मृत सैनिकहरूको बलिदानले अमेरिकी संकल्पलाई अझ बलियो बनाएको बताएका छन् ।
अमेरिकी आक्रमणपछि इरानले साउदी अरेबिया, अमेरिकाका खाडी क्षेत्रका अन्य सहयोगी राष्ट्र तथा जोर्डनलाई पनि निशाना बनाएको जनाइएको छ। यसअघि अमेरिकाले इरानका पुल, विद्युत् पूर्वाधार तथा अन्य रणनीतिक संरचनामाथि पनि आक्रमण गरेको थियो।
यसैबीच, इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईले अमेरिका द्वन्द्वलाई थप चर्काउन खोजिरहेको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक वक्तव्यमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिबद्धताहरू ‘पूर्ण रूपमा अविश्वसनीय’ भएको दाबी गर्दै अमेरिकाले अझ ठूलो क्षति र अपमान भोग्नुपर्ने चेतावनी दिएका छन्। घटनाबारे अमेरिकी ह्वाइट हाउसले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
