काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन् ।
आइतबार पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको आरोप लगाए ।
उनले भने, ‘लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू हुन्छन्। हिंसा, आगजनी, तोडफोड, कब्जा, असंवैधानिक जस्ता कुराहरू हुँदैनन्। अहिले बनेको सरकार, यसको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको सरकार हो।’
उनले लोकप्रियताको नाममा पपुलिज्मको भद्दा अभ्यास भइरहेको पनि टिप्पणी गरे । उनले भने, ‘यहाँ प्रश्न पपुलारिजमको मात्र होइन। पपुलारिजमको कुरा मात्र भए पपुलिस्ट ढंगले आफूलाई लोकप्रिय बनाउने प्रयास गर्नु। त्योभन्दा अगाडि पपुलिस्ट हुने भद्दा प्रयास भएको छ।’
अध्यक्ष ओलीले यो सरकारले विदेशबाट नेपाली फर्काउने बताएपछि अहिले झन् युवा विदेशीने क्रम बढेको बताए । उनले भने, ‘ मान्छे विदेश पठाइयो भने उधुम हल्ला थियो । पोहोर साल यतिबेला भन्दा अहिले यतिबेला विदेश जानेको संख्या झन् बढी छ। तर पनि चुपचाप छ ।’
