नेपाली सेनाले एसपीपी सम्झौता अगाडि बढाएपछि भूराजनीतिक अवस्था थप संवेदनशीलः परराष्ट्रविद् श्रेष्ठ

काठमाडौं । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको भूराजनीतिक अवस्था दुई ढुङ्गाबीचको तरुलबाट तीन ढुङ्गाबीचको तरुलमा परिणत भएको बताएका छन् ।

शनिबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि र नेपाली सेनाले एसपीपीको लागि सम्झौता अगाडि बढाएपछि नेपालको भूराजनीतिक अवस्था थप संवेदनशील बनेको बताए ।

उनले भने, ‘साथीहरु पृथ्वीनारायण शाहलाई उदृत गरेर नेपाल दुई ढुङ्गाबीचको तरुल भन्नुहुन्छ । म चाहिँ एमसीसी पास गरेपछि र सेनाले एसपीपी ल्याउने भनेपछि नेपाल ढुङ्गाबीचको तरुल हैन, तीन ढुङ्गाबीचको तरुल भयो ।’

श्रेष्ठले नेपाल कमजोर देखिए पनि यसको आफ्नै अस्तित्व रहेको उल्लेख गर्दै त्यो अस्तित्वमाथि चुनौती आए छिमेकी मुलुकहरू पनि प्रभावित हुने बताए ।

उनले भने, ‘तरुल सफ्ट छ, डेलिकेट छ, तर तरुलको अस्तित्व मेट्न खोजे भने वरिपरीका ढुङ्गा पनि आएर तिमीहरूलाई टुक्रा–टुक्रा गर्न सक्छन् ।’

उनले नेपालको भूराजनीतिमा सन्तुलित र शान्तिपूर्ण कूटनीति आवश्यक रहेको बताए । नेपाललाई कुनै पनि शक्ति राष्ट्रबीचको द्वन्द्वको केन्द्र बनाउन नहुने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *