-क्रान्तिशिखा धिताल ।
केही दिनदेखि आत्महत्या र आत्महत्याको प्रयाससँग सम्बन्धित घटनाहरू समाचार र सामाजिक सञ्जालमा निरन्तर देखिरहेका छौँ। आत्महत्याको तरिका फरक हुन सक्छ, परिस्थिति फरक हुन सक्छ, कारणहरू फरक हुन सक्छन्, तर अन्तिम परिणाम एउटै हुन्छ एउटा अमूल्य जीवनको अन्त्य।
आज हाँसिरहेको मानिस भोलि यही संसारमा नहुन पनि सक्छ। आज रोइरहेको व्यक्ति भोलि अचानक मुस्कुराएको देखिन पनि सक्छ। मानिसको अनुहारले सधैं उसको मनको अवस्था देखाउँदैन। हामीले देखेको बाहिरी रूप नै उसको वास्तविकता हो भन्ने आवश्यक छैन। प्रत्येक व्यक्तिभित्र एउटा अदृश्य संघर्ष चलिरहेको हुन सक्छ।
हामीले आफैँलाई एकपटक सोधौँ हामीले अन्तिम पटक कसैको कुरा मन लगाएर कहिले सुनेका थियौँ ? कसैलाई ‘तिमीलाई कस्तो भइरहेको छ?’ भनेर साँचो अर्थमा कहिले सोधेका थियौँ ? र हामी आफैँले अन्तिम पटक कसैको अगाडि मन खोलेर कहिले रोएका थियौँ ? आफूलाई विश्वास गरेर कसैले केही साझा गरेको थियो भने, त्यसलाई हामीले कहिले र कति पटक उसैविरुद्ध हतियार बनायौँ? अनुमान, हल्ला वा सुनेकै भरमा हामीले कति सम्बन्ध तोडेका थियौँ? एकपटक खुला मनले आफैँलाई सोधौँ र मनन गरौँ।
जब मानिस आफ्ना भावना दबाएर राख्न बाध्य हुन्छ, जब उसलाई आफ्नो पीडा व्यक्त गर्ने सुरक्षित ठाउँ हुँदैन, तब त्यो पीडा भित्रभित्रै थुप्रिँदै जान्छ। त्यही गुम्सिएको पीडाले मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ र कतिपय अवस्थामा आत्महत्या वा आत्महत्याको प्रयासजस्ता अत्यन्त दुःखद घटनासम्म पुर्याउन सक्छ।
आत्महत्या कहिल्यै पनि एकछिनको निर्णय हुदैन । धेरैजसो अवस्थामा यो वर्षौँदेखि थुप्रिँदै आएको सामाजिक दमन, विभेद, अपमान, अस्वीकार र निरन्तरको एक्लोपनको अन्तिम चिच्याहट हो।
जब सामाजिक व्यवहार, सम्बन्धका उतारचढाव, सामाजिक अन्तरक्रिया, मूल्य र मान्यताले नै विभेद, प्रभुत्व र असमानतालाई सामान्य बनाउँछन्, तब पीडित व्यक्तिले “मेरो भाग्य नै यस्तै हो’, ‘मैले सबै सहनुपर्छ’ भन्ने सिकेको असहायपन (learned helplessness) विकास गर्न थाल्छ।
यस्ता संरचनात्मक समस्यालाई यदि राज्यका नीति र संस्थागत अभ्यासले समयमै सम्बोधन गर्न सकेनन् भने, हामी केवल घटनापछि दुःख व्यक्त गर्ने समाजमा सीमित हुन्छौँ। त्यसैले राष्ट्रिय नीति उपचारमुखी मात्र होइन, रोकथाममुखी हुनुपर्छ। मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको प्राथमिकतामा राख्नुपर्छ। विद्यालयदेखि कार्यस्थलसम्म गुणस्तरीय परामर्श सेवा विस्तार गर्नुपर्छ। गुनासा राख्न सकिने सुरक्षित संयन्त्र निर्माण गर्नुपर्छ। प्रत्येक नागरिकले निर्धक्क भएर आफ्नो कुरा भन्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्छ।
अन्त्यमा, म सबैसँग एउटा आग्रह गर्न चाहन्छु।
कसैको मृत्यु भएपछि ‘बिचरा’ भनेर दुःख व्यक्त गर्नु अघि, कसैको पक्ष वा विपक्षमा उभिनु अघि, एकपटक आफ्नै शब्द, आफ्नै व्यवहारलाई पनि ऐनामा हेरौ । कतै हाम्रो कुनै टिप्पणी, कुनै व्यङ्ग्य, कुनै सार्वजनिक अपमान, कुनै अफवाह वा कुनै बेवास्ताले कसैको पीडामा थप भार त थपिरहेको थिएन ?
हाम्रो समाजमा दोहोरो चरित्र, छिटो निर्णय गर्ने प्रवृत्ति र अरूको पीडालाई मनोरञ्जन बनाउने संस्कार कम छैन। हामी मानिसलाई बुझ्नुभन्दा पहिले judge गर्छौँ, सुन्नुभन्दा पहिले दोषी ठहर गर्छौँ।हामी यस्तो समाज बनाउन जहाँ हरेक व्यक्तिले आफ्ना भावना, पीडा, डर र असहायता निर्धक्कसँग व्यक्त गर्न सकून् । जहाँ मानिसले आफ्नो पीडा निर्धक्कसँग बाँडेर बाँच्न सकून्। कहिलेकाहीँ एउटा धैर्यपूर्वक सुन्ने कान, एउटा सहानुभूतिपूर्ण शब्द र एउटा साथ दिने हातले एउटा जीवन बचाउन सक्छ।
हामी जीवन बचाउने समाज बनाऔँ, सहारा दिने मानिस बनौँ, कसैको अन्तिम चिच्याहट सुन्ने समाज बनाऔँ, त्यसपछि श्रद्धाञ्जली दिने समाज मात्र होइन। आजसम्म आत्महत्याका कारण जीवन गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली। उहाँहरूको सम्झनाले हामीलाई अझ जिम्मेवार, अझ संवेदनशील र अझ मानवीय बन्न प्रेरणा दिओस् ।
