काठमाडौं । फिफा विश्वकप २०२६ को क्वाटरफाइनल चरण अन्तर्गत आज हुने खेलमा नर्वे र इङ्ल्यान्ड आमनेसामने हुँदैछन् । मियामीमा हुने यो बहुप्रतीक्षित भिडन्तमा दुई टोलीका स्टार फरवार्ड एर्लिङ हालान्ड र ह्यारी केनबीचको प्रतिस्पर्धा मुख्य आकर्षण रहने अपेक्षा गरिएको छ ।
नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले हालान्ड र केनबीचको प्रदर्शनले खेलको नतिजा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
“केन इङ्ल्यान्डका नम्बर एक म्याच विनर हुन् र हालान्ड हाम्रो टोलीका नम्बर एक म्याच विनर हुन् भन्ने कुरा सबैलाई थाहा छ,” सोलबाकेनले खेलअघिको पत्रकार सम्मेलनमा भने ।
हालान्डले यस विश्वकपमा उत्कृष्ट लय कायम राख्दै पहिलो चार खेलमै सात गोल गरेका छन् । उनको प्रेरणादायी प्रदर्शनमा नर्वे २८ वर्षपछि विश्वकपमा पुनरागमन गर्दै पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।
यता, इङ्ल्यान्डका कप्तान ह्यारी केनले पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका छन् । अन्तिम १६ मा मेक्सिकोविरुद्ध ३–२ को जितमा गोल गर्दै उनले यस विश्वकपमा आफ्नो गोल संख्या ६ तथा समग्र विश्वकप गोल संख्या १४ पुर्याएका छन् ।
हालान्डबारे प्रतिक्रिया दिँदै केनले उनलाई “असाधारण खेलाडी” भन्दै प्रशंसा गरे ।
“हामी दुवै स्ट्राइकर भए पनि हाम्रो खेल्ने शैली फरक छ । उनी उत्कृष्ट खेलाडी हुन् । तर भोलिको खेलमा उनले शान्त दिन बिताऊन् भन्ने मेरो चाहना छ,” केनले भने ।
इङ्ल्यान्डका लागि अर्को सुखद खबर भनेको डेक्लान राइस, मार्क गुएही र रीस जेम्स चोटमुक्त हुँदै शुक्रबार टोलीसँग प्रशिक्षणमा फर्किनु हो । चेल्सीका कप्तान जेम्स अन्तिम १६ मा मेक्सिकोविरुद्धको खेल गुमाएका थिए, तर नर्वेविरुद्धको क्वाटरफाइनलमा सुरुआती टोलीमा फर्किने सम्भावना बलियो रहेको छ ।
इङ्ल्यान्ड चार वर्षअघि क्वाटरफाइनलबाट बाहिरिएको निराशा बिर्साउँदै पुनः सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ भने नर्वे ऐतिहासिक उपलब्धिलाई अझ अघि बढाउने लक्ष्यसहित मैदान उत्रिनेछ ।
